समस्यामा सुदूरपश्चिमका केरा किसान
धनगढी: कोरोना प्रभावपछि जारी लकडाउन र निषेधाज्ञाका कारण कैलाली, कञ्चनपुरका केरा किसान समस्यामा परेका छन्।
गत चैत्र ११ गतेदेखि एक सय २० दिनसम्म चलेको लकडाउन र अहिले स्थानीय प्रशासनले घोषणा गरेको निषेधाज्ञाका कारण केरा किसान समस्यामा परेका हुन्। कोरोनाले अन्य क्षेत्र जस्तै कृषिलाई पनि बढी असर गरेका वेला केरा किसानहरु समस्यामा परेका हुन्। प्रदेशमै बढी केरा उत्पादन हुने कैलाली र कञ्चनपुरका किसानहरु बजारीकरण संगै मल नपाउँदा समस्या भोग्न बाध्य भएका छन्।
यो समयमा केराको उत्पादन बढी हुने गरेको भएपनि बजारीकरणको समस्या भएको कैलालीका केरा किसान लक्षिराम आचार्यले बताए। ‘केरा हुर्काउने समयदेखि नै किसानले विभिन्न किसिमका समस्या भोग्दै आउनु परेको छ,’ उनले भने, ‘अहिले सुदूरपश्चिमका मौलिक चाडपर्वको समय हो। सबैभन्दा बढी केरा खपत हुने सिजन पनि अहिले रहेकोमा निषेधाज्ञाले बजारीकरणमा समस्या भएको छ।’
धनगढी, महेन्द्रनगर, अत्तरियासहितका अन्य बजारहरुमा आयातित केराहरु मात्रै विक्रि भईरहेका छन्। सुदूरपश्चिमलाई पुग्ने केरा कैलाली, कञ्चनपुरमै उत्पादन हुने गरेको भएपनि बजार सम्म पुगाउन मुस्कील हुने गरेको कञ्चनपुरका केरा किसान पुर्ण साउदले बताए। ‘भारत तथा प्रदेश वाहिरबाट भने केरा आयात भईरहेको छ,’ उनले भने, ‘स्थानीय उत्पादन बारीमै छ, सरोकारवाला निकायले वास्ता गरेनन्।’
किसानहरुले केरा हुर्काउने समयदेखि नै मल लगायतका अन्य समाग्रीको अभाव भोग्दै आएको गुनासो गरेका छन्। तर जेनतेन उत्पादन गरेका केरा बारीमा कुहिने र स्थानीय बजारमै सिमित हुनथाले पनि सरोकारवाला निकाय उदासिन बनेको आरोप लागेको छ।
गत चैतदेखि नै स्थानीय उत्पादनको आपेक्षकृत रुपमा बजारीकरण हुन सकेको छैन्। कहिले सवारी साधनमा जोरबिजोर प्रणली लागु हुने गरेको छ त कहिले खानेकुराबाट कोरोनाको संक्रमण फैलिन्छ भन्ने हल्लाका कारण स्थानीय उत्पादनले बजार नपाएको हो।
तर कृषि ज्ञानकेन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले भने स्थानीय उत्पादनलाई बजार सम्म पुगाउन प्रहरी प्रशासनले बाधा नपुगाएको दावी गरे। ‘भारत तथा बाहिरबाट आउने केरालाई बजार सम्म पुगाउने चक्र बनेको हुदा सहज हुन्छ,’ उनले भने, ‘स्थानीय उत्पादनको बजारीकरण गर्ने बतावरण नमिलेका कारण समस्या भईरहेको छ।’