धनगढीमा कोरोना पुष्टि भएका सिभिल बैँकका कर्मचारी लम्कीचुहा र जानकीमा कार्यरत
धनगढीः धनगढीमा परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएका सिभिल बैँकका कर्मचारी लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकामा कार्यरत रहेका छन्।
धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले धनगढीमै नमूना संकलन गरी परीक्षण गरिएका तीन जना कर्मचारी सिभिल बैँकको लम्की र जानकी गाउँपालिकाको शाखामा कार्यरत रहेको खुलेको बताए।
उपाध्यायले यसअघि सूचना संकलनका क्रममा प्राविधिक त्रुटी हुँदा धनगढीमै कार्यरत हुन पुगेको जनाए। उनले लम्कीचुहा नगरपालिकाको शाखामा कार्यरत दुई जना र जानकी गाउँपालिकाको शाखामा कार्यरत एक जना कर्मचारीमा संक्रमण पुष्टि भएको बताए।
यस्तै बुधबारदेखि सम्पर्क बिहिन भएका अर्का संक्रमित पनि सिभिल बैँककै कर्मचारी भएको खुलेको उनले बताए। ती कर्मचारी पनि जानकी गाउँपालिकामा रहेको शाखामा कार्यरत छन्।
यो सँगै बैँकको लम्कीचुहा शाखाका दुई र जानकी शाखामा कार्यरत दुई गरी चार जना कर्मचारीमा कोरोना पुष्टि भएको धनगढी उपमहानगरपालिकाले जनाएको छ।