अध्यक्ष ऐर भन्छन्, ‘दुधे बालकसहितको दम्पतिलाई राति नाकामा नछोड्नुस भन्दा पक्राउ परे’
धनगढी: धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का अध्यक्ष बलवहादुर ऐरले दुधे बालक बोकेको दम्पतिलाई सीमा नाकामा अलपत्र नछोड्नुस भन्दा प्रहरीले आफुलाई पक्राउ गरेको बताएका छन्।
मंगलवार त्रिनगर नाकाबाट भित्रिएका तीन जनालाई राति ९ बजे सीमा नाकामा अलपत्र छोड्न लगिएपछि विरोध गरेको बताउँदै उनले भने, ‘दिउसो मेरै रोहबरमा नेपाली नागरिकता नभएका तर नेपालीसंग बिहे गरेका एक पुरुषलाई भित्र्याईएको थियो। राति फेरी नाकामै लगेर अलपत्र छोड्न थालिएपछि मैले विरोध गरेको थिए। तर प्रहरीले मलाई पक्राउ गर्यो।’
उनका अनुसार नेपाली महिलासंग बिहे गरेर भारतीय पुरुष परिवारसहित २५ बर्षदेखि धनगढीकै वडा नम्बर १ मा बस्दै आएका थिए। ‘राति नफर्काएर अर्को दिन बिहान फर्काउन प्रहरीसंग आग्रह गरेको थिए। तर राति नै उनीहरुलाई सीमामा अलपत्र छोडियो,’ प्रहरी हिरासतबाट छुटेपछि अध्यक्ष ऐरले भने, ‘अहिले धनगढीमा दुई हजार बढि भारतीय नागरिक भित्रिएका छन्। उनीहरुलाई कस्ले भित्र्यायो भनेर पनि मैले प्रहरीसंग कुराकानी गरेको थिए।’
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक प्रतिक बिष्ट भने वडा अध्यक्ष ऐरले नाकामा गएर प्रहरीसंग बादविबाद गरेपछि उनलाई पक्राउ गरिएको बताउँदै आएका छन्। आज उनले गल्ती स्वीकार गरेपछि छोडीएको बिष्टले बताए।