डेरामा बस्दै आएकी महिलाको शव फेला
दार्चुला: दार्चुलामा एक महिलाको शव फेला परेको छ। जिल्लाको महाकाली नगरपालिका –२ मालभेला नजिकै बुड्चौराकी २६ वर्षीया निर्मला कुवरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
उनी विगत एक महिनादेखि बेपत्ता परेको प्रहरीले जनाएको छ। घट्नास्थलमा महिलाको शव सडेको अवस्थामा भेटिएको हो। झाडीभित्र महिलाको अस्थिपञ्जर र चुरा, लुगा र मोबाईल सेट भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले बताए।
सदरमुकाम खलंगामा डेरा गरी बस्दै आएका महिलाको मृत्युको कारण भने खुल्न नसकेको डिएसपी पदमबहादुर विष्टले बताए। मृतकका श्रीमान कुन्दनसिह फराल बैदेशिक रोजगारीका शिलशिलामा साउँदीमा छन्।
महिलाको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल दार्चुला पुर्याइएको छ। घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।