के भएको थियो त्रिनगर नाकामा, किन पक्राउ परे धनगढीका वडाध्यक्ष ?
धनगढी-धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का नन्दवहादुर बुढमगरकी बहिनी भारतको पन्जावमा थिइन्। भारतीय नागरिकसंग विवाह गरेकी उनको सपरिवार धनगढीमा बस्दै आएको थियो।
भारतीय नागरिक भएपनि बुढामगरकी बहिनी अम्रिताका श्रीमान, सासु, ससुरा र नन्द धनगढी उप–महानगरपालिका वडा नम्वर १ पशुपति टोलमा बस्दै आएका छन्।
तर केही समययता भने अम्रिता आफ्ना श्रीमान र नन्दसंगै पन्जाव लुधियानामा थिईन्। त्रिनगर नाका भएर भारतीय नागरिकलाई पनि प्रवेश अनुमती छ भन्ने हल्ला चलेपछि केही दिन अगाडि पन्जावबाट हिडेकी अम्रिता श्रीमान र नन्दसंगै मंगलवार विहान ९ बजे त्रिनगर नाका पुगिन्।
अम्रितालाई प्रवेश गराउन कुनै समस्या नभएपनि उनका श्रीमान र नन्द भारतीय नागरिक भएकाले प्रहरीले नेपाल प्रवेश गर्न दिएन्। अम्रिताका दाई वडा नम्वर ३ का नन्दवहादुरले भने, ‘आफ्नो बहिनी, ज्वाईलाई नेपाल आउन नदिएको भन्दै मैले वडाध्यक्ष बलवहादुर ऐर ज्यूलाई सम्पर्क गरे। अध्यक्ष ज्यूले आफै जिम्मा लिएर तीन जनालाई नै प्रवेश गराउनुभयो।’
अम्रिताका अनुसार त्रिनगर नाकाबाट भित्रिने अनुमती पाएपछि उनीहरु धनगढी रंगशालामा रहेको क्वारेन्टिनमा पुगे। स्थानीय प्रशासनले भारतीय नागरिकलाई समेत प्रवेश अनुमती दिएर क्वारेन्टिनमा पुगाएको जानकारी पाएपछि वडा प्रहरी कार्यालयको टोलीलाई भारतीय नागरिकलाई नाकाबाट फर्काउन निर्देशन दियो।
भारतीय नागरिकलाई फिर्ता गर्न धनगढी उप–महानगरपालिकाका प्रवक्ता तथा वडा नम्वर १ का वडाध्यक्ष सन्तोष मुडभरी पनि त्रिनगर नाका पुगेका थिए। उनीहरु त्रिनगर नाका पुग्दा सम्म रातिको ९ बजेको थियो। सोही सयमयमा वडा नम्वर ३ का वडाध्यक्ष बलवहादुर ऐर पनि नाकामा पुगे।
सो समयमा नाकामै रहेका एक जनाले दिनेश खवरलाई भने, ‘कसैले रकम लिएरै भारतीय नागरिकलाई भित्र्याउन मिल्ने तर धनगढीमै माईती घर भएका व्यक्तिलाई मैले आफ्नो जिम्मामा ल्याउन नमिल्ने कस्तो नियम हो भन्दै वडाध्यक्ष ऐरले प्रहरीसंग बहस गरेका थिए। २ हजारदेखि २५ सय भारतीय नागरिक धनगढी कसरी आए भन्दै प्रहरीलाई प्रश्न गरेका थिए।’
त्यसपछि वडाध्यक्ष ऐर र प्रहरीविच विवाद बढेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। सामान्य विवादमै वडा अध्यक्षलाई प्रहरीले पक्राउ गरेको अम्रिताका परिवाका सदस्यले बताएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले वडाध्यक्ष ऐरले मदिरा सेवन गरेर होहल्ला गरेपछि उनलाई पक्राउ गरिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले सो बारेमा विस्तृतमा अनुसन्धान भईरहेको बताए। रंगशालाको क्वारेन्टिनबाट त्रिनगर पुगाएका तीन जना भने मंगलवार रातिदेखि दशगजामै बसेका छन्।