जब कैलालीमा दाहसंस्कारको ८ दिनपछि कोरोना रिपोर्ट पोजेटिभ आयो..
धनगढी : काम गर्न कैलालीको मोहन्याल गाउँपालिकामा वडा नम्वर ३ मा पुगेका ४९ वर्षीय पुरुष साउन ३२ गते बेहोस भए। अचेत अवस्थामा रहेका उनलाई त्यहाँबाट उपचारका लागि तराई ल्याउँदै गर्दा मोहन्याल गाउँपालिकामै मृत्यु भयो।
उनको घर बर्दगोरिया गाउँपालिका वडा नम्वर ५ भएकाले दाहसंस्कारको लागि बर्दगोरिया नै ल्याइयो। भदौ १ गते दाहसंस्कार गर्नुअघि बर्दगोरिया गाउँपालिकाको स्वास्थ्य शाखाले स्वाब संकलन ग¥यो।
गाउँपालिकाको स्वास्थ्य शाखाका अधिकृत कृष्णदेव जोशीका अनुसार १ गते स्वाब संकलन गरेर परीक्षणका लागि धनगढी पठाइएको थियो।
तर धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा स्वाबको चाप बढि भएपछि सेती अस्पतालले एक हजार ८ सय बढिको स्वाब परीक्षणका लागि शनिवार डडेल्धुरा पठायो।
मृतक पुरुषको स्वाब पनि डडेल्धुरा पठाइएको थियो। डडेल्धुरामा मंगलबार भएको परीक्षणमा मृतकको रिपोर्ट पोजेटिभ आएको छ।
‘मृत्युको ९ र दाहसंस्कार भएको ८ दिनपछि कोरोना रिपोर्ट पोजेटिभ आएको छ,’ गाउँपालिकाको स्वास्थ्य शाखाका अधिकृत जोशीले भने, ‘मृतकको रिपोर्ट पोजेटिभ आएपछि मलामी गएका र सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ।’
उनका अनुसार झण्डै एक सय जना मलामी गएकाहरु सम्पर्कमा आएका छन् भने मृतकको सम्पर्कमा आएका ४० जनाको आज स्वाब संकलन गर्ने तयारी छ।