सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा पहिराेपीडित परिवारलाई राहत वितरण

२०७७ भदौ ९, ०८:१६ रासस

बैतडीको डिलाशैनी गाउँपालिकाका पहिरोपीडित परिवारलाई राहत वितरण गरिएको छ। परिवारका सदस्य गुमाएका डिलाशैनी–४ बलालीका ऐते बोहरालाई राहत तथा क्षतिपूर्ति दिइएको हो। गत साउन २२ गते राति सुतिरहेका बेला घरमाथिबाट पहिरो खस्दा ऐतेकी ४० वर्षीया श्रीमती पशुपति र १२ वर्षीय छोरा रिकेशको ज्यान गएको थियो।

यस्तै घर पूर्णरूपमा क्षतिग्रस्त भएको थियो। पीडित परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिले रु चार लाख राहत दिएको हो। विपद् व्यवस्थापन कोषबाट पीडित परिवारलाई राहत दिइएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले  बताए। पीडित परिवारको खातामा एकमुष्ठ रु चार लाख जम्मा गरिदिएको हो। 
उनले भने, “परिवारका एक सदस्यको मृत्यु भएमा दुई लाख र सोही परिवारका अर्का सदस्यको मृत्यु भएमा थप रु एक लाख दिने व्यवस्था छ।  सोहीअनुसार दुई मृतकको गरेर रु तीन लाख र घर पूर्णरूपमा क्षति भएकाले थप रु एक लाख गरी चार लाख बैंकमार्फत दिएका हौँ।” 

यस्तै जिल्लाका अन्य स्थानीय तहमा पनि पहिरोले गरेको क्षतिको विवरण सङ्कलनको काम भइरहेको जनाइएको छ। अन्य स्थानीय तहमा मानवीय क्षति नभएकाले स्थानीय विपद् व्यवस्थापन समितिले नै क्षतिपूर्ति तथा राहत दिने बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए। कुन क्षेत्रमा के कति क्षति पुर्याएको छ भन्नेबारे सम्बन्धित स्थानीय तहमा रहेका विषयगत शाखाहरुले हेर्ने र त्यसपश्चात् राहत तथा क्षतिपूर्ति दिइने बताइएको छ। 

यसैबीच बैतडीको सुर्नया गाउँपालिका–५ का पहिरोपीडित चार परिवारलाई राहत सामग्री प्रदान गरिएको छ। पहिरोपीडित वीरबहादुर मडै, दिनेश मडै, रामबहादुर मडै र धर्म मडैको परिवारलाई राहत सामग्री वितरण गरिएको गाउँपालिका उपाध्यक्ष लीला विष्टले बताए।

सोमबार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बैतडीको सहयोगमा प्राप्त राहत सामग्री वितरण गरिएको हो। राहत सामग्रीमा कपडा, भाँडाकुँडा, त्रिपाल, खाद्यान्नलगायत सामग्री  छन्। यसका साथै उपाध्यक्ष विष्टले आफ्नातर्फबाट राहतस्वरुप पीठो वितरण गरेको थियो।

पीडित परिवारलाई गाउँपालिकाबाट राहत प्रदान गर्ने सम्बन्धमा भने आगामी कार्यपालिकाको बैठकमा छलफल हुने उपाध्यक्ष विष्टले बताए। गत हप्ता अविरल वर्षासँगै पहिरो खस्दा सुर्नया–५ का ४ परिवार विस्थापित भएका थिए।
 

कमेन्ट लोड गर्नुस