धनगढीमा स्थानीय संक्रमितको संख्या २३, को हुन उनीहरु ?
धनगढी : नेपालमै पहिलो पटक स्थानीय संक्रमण फेला परेको धनगढीमा समुदाय स्तरमा कोरोना भाईरस फैलिदै गएको छ। दुबईबाट फर्किएका धनगढी–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पु्रुषमा चैत १४ गते कोरोना संक्रमण पुष्टि भएकोमा चैत मसान्तमा नेपालमा पहिलो पटक स्थानीय संक्रमण उनकी भाउजुमा देखिएको थियो।
अहिले धनगढीमा स्थानीय संक्रमितको संख्या बढेर २३ पुगेको धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले हाल सम्म धनगढीका एक सय ८२ जनामा संक्रमण पुष्टि भएको बताउँदै २३ जनाको ट्राभल हिस्ट्री नभेटिएको बताए।
‘२३ जना स्थानीय संक्रमित हुन्,’ उपाध्यायले भने, ‘उनीहरुको आन्तरिक ट्रभाल हिस्ट्री मात्रै देखिएको छ।’ उनका अनुसार अहिले सम्म ट्राभल हिस्ट्री नभएका ५ जना सुरक्षाकर्मी, ५ जना स्वास्थ्यकर्मी, दुई जना शिक्षक र दुई जना चालकमा संक्रमण पुष्टि भएको छ।
यस्तै दुई जना व्यापारी, दुई जना निर्माण कम्पनीमा कार्यरत कर्मचारी र एक जना बैंकका कर्मचारीमा पनि ट्राभल हिस्ट्री बिना नै कोरोना संक्रमण पुष्टि भएको छ।
बाँकी चार जना भने सर्वसाधारण हुन्। उनीहरुमध्ये एक जना संक्रमितको मृत्यु भईसकेको उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक उपाध्यायले बताए।
उनका अनुसार अहिलेसम्म उप–महानगरका एक सय ८२ जनामा संक्रमण देखिएकोमा एक सय ३७ जनाले भने कोरोना जितिसकेका छन्। बाँकी ४४ जनाको उपचार भईरहेको छ।