कैलालीमा उपचारका लागि विभिन्न अस्पताल धाएका बृद्धमा कोरोना संक्रमण
धनगढीः कैलालीमा बाह्य ट्राभल हिस्ट्री नभएका ७५ वर्षीय बृद्धलाई कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको भजनी नगरपालिका वडा नम्बर ७ का ७५ वर्षीय बृद्धलाई उपचारका लागि कैलालीका विभिन्न अस्पताल डुलाउँदा डुलाउँदै संक्रमण पुष्टि भएको पाईएको छ।
झण्डै पाँच महिनादेखि घर बाहिर नगएका ती बृद्ध सुगरका बिरामी हुन्। डकर्मीको काम गर्दै आएका बृद्धको खुट्टामा रहेको पूरानो घाउ बल्झीएपछि उनी एक हप्ता पहिले उपचारका लागि भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेका थिए।
‘खुट्टाको घाउ बल्झीएपछि उपचारका लागि ७ दिन पहिले भजनी प्राथमिक स्वास्थ्य केन्द्र लगेको थिए।’ उनका छोराले दिनेश खबरसँग भने, ‘दोस्रो दिन टीकापुर अस्पताल लग्यौँ। त्यहाँबाट सेती प्रादेशिक अस्पताल जान भनिएपछि यहाँ ल्याएको हुँ।’
तीन दिनदेखि सेती अस्पतालमै उपचार गराईरहेका उनमा शनिबार मात्र कोरोना पुष्टि भएको हो। ‘वुवा लकडाउन भएदेखि बाहिर जानुभएको छैन्।’ उनले भने, ‘अस्पताल डुलाउँदा डुलाउँदै कोरोना देखियो। तर स्वास्थ्यमा अरु समस्या नभएपनि सुगर बढेको उपचारमा संलग्न चिकित्सकले भनेका छन्।’
उनका अनुसार तीन दिन पहिले सेती अस्पताल ल्याईएकोमा सुरुमा आकस्मिक कक्षमा उपचारका लागि लगिएको थियो। आकस्मिक कक्षबाट रगत परीक्षण र एक्सरे गर्न भनिएपछि उनलाई ८ र १७ नम्बर कोठामा लगियो।
खुट्टाको शल्यक्रिया गर्नुपर्ने भन्दै चिकित्सकले भर्ना लिए। उनलाई अस्पतालको शल्यक्रिया वार्डमा भर्ना गरिएको थियो। शनिबार कोरोना पुष्टि भएपछि सेती अस्पतालकै आईसोलेसनमा सारिएको छ।
बृद्धसँगै उनका छोरा पनि आईसोलेसनमा बसेका छन्। छोराको समेत कोरोना परीक्षण गर्ने तयारी छ।