अछाममा बाढीले बगाउँदा वेपत्ता भएका थप एक जनाको शव भेटियो
अछामः अछाममा बाढीले बगाउँदा वेपत्ता भएका थप एकजनाको शव भेटिएको छ।गत मंगलबार राती अविरल वर्षासँगै कैलाश खोलामा आएको बाढीले बगाएका रामारोशन गाउँपालिका ५ का १९ वर्षीय रुपेश साउँदको शव भेटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार उनको शव रामारोशन गाउँपालिका वडा नम्बर ५ र ६ जोड्ने झोलुङ्गे पुल नजिककैको बगरमा फेला परेको हो। शव शनिबार नै आफन्तले बुझेका छन्।
बाढीमा बगेका वडा नम्बर ५ सैनीबजारका १० जना अझै फेला परेका छैनन्। मंगलबार रातिको बाढीले सैनीबजारका २२ घर बगाउँदा चार परिवारका १७ जना बेपत्ता भएका थिए।
बुधबार ६ जना र शनिबार एक गरी ७ जनाको शव भेटिए पनि अझै १० जना बेपत्ता रहेका छन्।