बैतडीमा बालक मृत्यु प्रकरण : १० लाख क्षतिपूर्ती दिने सहमति
धनगढी : बैतडीमा खाल्डोमा डुबेर मृत्यु भएका दुई बालकका परिवारलाई क्षतिपूर्ती दिने सहमति पछि परिवारले शव बुझेका छन्। सोमबार बैतडीको दशरथचन्द नगरपालिका २ देहीमाण्डौंका १४ बर्षीय अंकित लाबड र ११ बर्षीय सन्दीप लावडको सडकमा होम पाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर ज्यान गएको थियो।
देहीमाण्डौं–गिरेगडा सडकखण्ड अन्तर्गत दशरथचन्द नगरपालिका २ सुन्दरखालीमा होम पाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएपछि परिवार शव बुझेका थिएनन्।
आज मृतकका परिवार, निर्माण व्यवसायी र जनप्रतिनिधीहरुबीच पीडित परिवारलाई १० लाख क्षतिपूर्ती दिने सहमति पछि परिवारले दुवै बालकको शव बुझेका हुन्।
देहीमाण्डौं–गिरेगडा सडकखण्ड स्तरोन्नतीको काम गरिरहेका निर्माण व्यवसायीले ६ लाख र दशरथचन्द नगरपालिका तर्फबाट ४ लाख गरी मृतकका परिवारलाई १० लाख क्षतिपूर्ती दिने सहमति भएको दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष रनबहादुर बोहराले बताए।
दुवै बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पुगाईएको छ। पोष्टमार्टम पछि आफन्तलाई शव बुझाइने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।