सुदूर नेपाललाई विश्वसँग जोड्दै

सन्दीपले खेल्ने सिपिएल आजदेखि

२०७७ भदौ २, ०२:१० रासस

काठमाडौँ: नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग (सिपिएल) आजदेखि शुरु हुँदैछ। ट्रिनिडाड एण्ड टोबागोमा आज राति ७ः४५ बजेदेखि सिपिएल शुरु हुनेछ। 

सन्दीपले भने आफ्नो पहिलो खेल बुधबार राति ७ः४५ बजे खेल्नु हुनेछ। सन्दीप सम्मिलित जमैका तल्लाहवाजले पहिलो खेल सेन्ट लुसियासित खेल्नेछ। सिपिएल खेल्न आफू निकै उत्साहित भएको सन्दीपको भनाइ छ। सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै उनले कोरोना महामारीका कारण लामो समयपछि क्रिकेट खेल्न पाउँदा खुशी लागेको बताएका छन्। 

सन्दीप सिपिएल खेल्न गत साउन १५ गते ट्रिनिडाड एन्ड टोबागो गएका थिए। नियमित उडान बन्द गरिएको अवस्थामा उनी कोरियन एयरको चार्टर्ड जहाजमा टोबागो गएका थिए। यसबीच सन्दीपले दुई पटक पिसिआर परीक्षण गराएका थिए। नेपाल र टोबागोमा गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो। उक्त रिपोर्टसँगै सन्दीपले सिपिएल खेल्ने बाटो खुला भएको हो। 

यस यामको सिपिएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो। उनले यसअघि दुई पटक सिपिएल खेलिसको छन्। सिपिएल भदौ २५ गतेसम्म चल्ने छ। सिपिएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्दैछन्। सिपिएलमा कूल ३३ खेल हुने छन्। 

कोरोना भाइरसका कारण ती सबै खेल बिना दर्शक खेलाइने छन्। आज पहिलो खेल राति ७ः४५ बजे ट्रिनबागो नाइट राइडर्स र गुएना वारियर्सबीच तथा अर्को खेल भोलि बिहान ३ः१५ बजे बारबाडोस र सेन्ट किट्सबीच हुनेछ।

कमेन्ट लोड गर्नुस