सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा निको हुनेको सूचीमा राखेपछि कोरोना संक्रमित गाउँ–गाउँ डुल्दै

२०७७ साउन ३२, १२:२३ कमल सावद

धनगढीः बैतडीको सुर्नया गाउँपालिका वडा नम्वर ७ का दुई जनालाई १४ दिन क्वारेन्टिनमा राखेर कोरोना निको भएको भन्दै घर पठाइयो। कुनै लक्षण नदेखिएका र १४ दिन क्वारेन्टिनमा राखिएको भन्दै उनीहरुलाई घर पठाइएको थियो। तर निको भएका भनिएका उनीहरुमा फेरी कोरोना भाईरसको संक्रमण देखिएको छ।

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश भट्टले स्थानीय तहहरुले पठाएको थ्रोट स्वाबको नमूना परीक्षण गर्दा निको भएको भनी डिस्चार्ज गरिएका उनीहरुको रिर्पोट पोजेटिभ आएको बताए। ‘हामीले कोरोना पुष्टि भएकाहरुको पुनः परीक्षण गरेका छैनौँ। स्थानीय तहले स्वाब संकलन गरी पठाएका रहेछन्। परीक्षण गर्दा  पोजेटेभ आएछ।’ उनले भने।

सुदूरपश्चिममा कोरोना भाइरसका संक्रमितहरुको पुनःपरीक्षण बिना घर पठाईदा संक्रमणको जोखिम झनै बढेको छ। नेपाल सरकारको मापदण्ड भन्दै प्रदेशमा लक्षण नदेखिएका संक्रमितलाई धमाधम घर पठाईएपनि महिनौसम्म पुनः परीक्षण नगरिदा जोखिम झनै बढेको हो। सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयले त्यस्ता संक्रमितलाई कोरोना मुत्त भएको सूचीमा राख्दै आएको छ।

सेती प्रादेशिक अस्पतालका कोभिड–१९ विभाग प्रमुख डाक्टर शेरबहादुर  कमरले २१ दिन  आइसोलेनमा बसेकाहरुमा पनि कोरोना भाइरसको संक्रमण देखिन सक्ने बताए। तर २१ दिनपछि संक्रमितबाट अन्य व्यक्तिमा कोरोना सर्ने सम्भावना नहुने उनले बताए।

‘कोरोना संक्रमितको परीक्षण गर्दा २१ दिनपछि पनि संक्रमण देखिन सक्छ। तर विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उनीहरुबाट अन्य व्यक्तिमा सर्दैन। त्यसै आधारमा १४ दिन आइसोलेन र सात दिन होम आइसोलेसनमा राखिएको हो।’ उनी बताउँछन्।

तर उनीहरुसंग कोरोना मुक्त भएको प्रमाण भने छैन्। कोरोना भाइरस संक्रमित पूर्ण रुपमा निको भए÷नभएको बारेमा अन्यौलता भएकाले समुदायका अन्यमा समेत संक्रमण फैलिने जोखिम बढेको छ। संक्रमितहरुलाई निको हुनेको सूचीमा राखेपछि उनीहरु गाउँमा डुल्ने थालेपछि समुदाय स्तरमा फैलिने खतरा बढेको हो। 

सुदूरपश्चिमका कुनै पनि जिल्लामा पछिल्लो केही समय यता संक्रमितको पुनःपरीक्षण गरिएको छैन्। लक्षण देखिएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखिएपछि घर पठाइएको छ भने लक्षण नभएका संक्रमितलाई घरमै बस्न भनिएको छ।

संक्रमितहरु पूर्ण रुपमा निको भए÷नभएको पुष्टि गरिएको छ्रैन्। स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बाजुरामा संक्रमितको परिवारका दुई सदस्यको मात्र नमूना परीक्षणका लागि पठाइएको बताए।

तर संक्रमितहरुको पुनः परीक्षणका लागि स्वाब संकलन नगएिको उनले बताए। ‘सुरुमा २२ जनाको मात्र पुनःपरिक्षण भएको छ। अन्यको छैन। २१ दिन  आइसोलेनमा राखिएपछि उनीहरुलाई घर पठाइएको हो।’ उनले भने। सुदूरपश्चिम प्रदेश सरकारले संक्रमणको १४ दिनपछि कोरोना भाइरस ९कोभिड–१९०को संक्रमण फैलिन नसक्ने भन्दै परीक्षण नगरिएको दावी गर्दै आएको छ।

सुदूरपश्चिममा समेत विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार परीक्षण गरिएको दावी प्रदेश सरकारले गर्दै आएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले विश्व स्वास्थ्य संगठनको मापदण्ड पालना गरिएको बताए।

नेपाल सरकारको निर्देशन अनुसार नै सुदूरपश्चिममा कोरोनाको परीक्षण हुँदै आएको उनले जनाए। तर सुरुवातमा भने लगातार दुई पटक कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि मात्रै डिस्चार्ज गर्ने कार्यविधि थियो। 

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस