सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्यसम्बन्धी विधेयक पारित

२०७७ साउन ३०, ०८:२५ रासस

सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ पारित गरिएको छ। प्रदेशसभा भवन धनगढीमा बसेको बैठकमा सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले उक्त विधयक पारित गरियोस भनी प्रस्ताव पेश गरेका थिए। सामाजिक विकास समितिमा दफावार छलफल भई तयार परिएको प्रतिवेदनसहितको उक्त विधेयकमाथि आजको बैठकमा छलफल भएको थियो।

छलफलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेशसभा सदस्य महेशदत्त जोशी, नेपाली काँग्रेसका गोविन्दराज बोहरा र जनता समाजवादी पार्टीका मालामतीकुमारी रानाथारूले भाग लिएका थिए। विधेयक पारित भएसँगै नेपालको संविधानमा व्यवस्था भएको नागरिकको स्वास्थ्यसम्बन्धी हकलाई कार्यान्वयन गर्न र स्वास्थ्य सेवालाई सर्भसुलभ तथा प्रभावकारी बनाउन प्रदेशस्तरमा बाटो खुलेको छ।

बैठकको प्रारम्भमा काँँग्रेसका देवराज पाठकले कञ्चनपुरको कृष्णपुर नगरपालिकाको क्वारेन्टिनमा भएको लापरबाहीका कारण करेन्ट लागेर ज्यान गुमाएकी राधादेखि ओडका साथै प्राकृतिक प्रकोप र बस दुर्घटनमा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी प्रदेशसभा सदस्य अम्बिकुमारी थापाको उपचार खर्चको व्यवस्था गर्न ध्यानाकर्षण गराए।

बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभा सदस्य भरतबहादुर खड्कालाई अर्थ विकास तथा प्राकृति स्रोत समिति, गोविन्दराज बोहरालाई सार्वजनिक लेखा समिति, कर्णबहादुर मल्ललाई सामाजिक विकास समिति र डिल्लीराज पन्तलाई सार्वजनिक लेखा समितिको सदस्यमा रही कामकाज गर्ने गरी जिम्मेवारी तोकिएको जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस