कैलालीमा सभामुखका छोराले चलाएको सरकारी गाडीले दियो ठक्कर, लागेन कानुन
धनगढी: गत शनिबार दिउँसो २ बजेतिर जिल्ला प्रशासन कार्यालय बझाङको बा १ झ ९२५० नम्बरको गाडीले एक मोटरसाइकललाई ठक्कर दियो। पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिका–६ मा बा ३२ प ६४५३ नम्बरको मोटरसाइकलमा ठक्कर लागेपछि चालक सिद्ध जयगढी गम्भीर घाइते भए।
बर्दगोरिया गाउँपालिका–४ घर भएका जयगढी धनगढीतर्फ आउँदै थिए। गम्भीर घाइते उनलाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगन्ज रिफर गरियो। जयगढी अहिले नेपालगन्जमै उपचाररत छन्। सो दिन दिन जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले दुर्घटना भएको तर विवरण आउन बाँकी रहेको भन्दै घटनालाई लुकाउन खोजे।
ठक्कर दिने गाडी जिल्ला प्रशासन कार्यालय बझाङको रहेको खुलेपछि प्रहरीले घटना लुकाउन खोजेको हो। प्रहरीले सो दिन गाडीका चालक र सवार सबै फरार रहेको बताउको थियो। कैलाली प्रहरीले उक्त घटना लुकाएप्नि जिल्ला प्रशासन कार्यालय बझाङका सहायक प्रमुख जिल्ला अधिकारी राम बहादुर सार्कीले भने उक्त गाडीमा आफु पनि सवार रहेको स्विकार गरेका छन्। उनका अनुसार उक्त गाडीमा ५ जना सवार थिए। आफूसहित अनुसन्धानका डिएसपी देवेन्द्र थापा लगायतका ५ जना सवार रहेको सार्कीले बताए।
गाडी कसले चलाएको थियो भन्ने प्रश्नमा भने उनले उत्तर दिन आनाकानी गरे। तर कैलाली प्रहरीकै स्रोतका अनुसार प्रशासनको उक्त गाडी सुदूरपश्चिम प्रदेशसभा सभामुख अर्जुन थापाका छोरा समेत रहेका डिएसपी देवेन्द्र थापाले चलाएका थिए। सहायक सिडियो सहितको टोली चिसापानी घुम्न निस्किएको स्रोतको दाबी छ।
मोटरसाइकललाई ठक्कर दिने सभामुखका छोरा देवेन्द्रलाई न त प्रहरीले पक्राउ गरेको छ, न त सत्य नै बाहिर ल्याएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक हिक्मत थापाले भने घाईतेको उपचार खर्च बेहोर्ने सहमती भएको बताए।
यो पनि पढ्नुस:
भिआइपीको घेरामा कैलाली प्रहरी, सानालाई ऐन, ठूलालाई चैन