सुदूर नेपाललाई विश्वसँग जोड्दै

तस्करको अखडा बन्दै बाजुराको सैन हिमाल

२०७७ साउन २१, ०२:०९ प्रकाश सिंह

बाजुरा: बाजुराको हिमाली गाउँपालिका वडा नम्बर १, २ र ३ मा प्रहरी चौकी नहुँदा बिच्छँयामा खुलेआम जडिबुटि तथा वन्यजन्तुको चोरी शिकारी भइरहेको छ। गाउँपालिकाको वडा नम्बर ३ युनामा रहेको प्रहरी चौकी एक दिनको दुरीमा तल पर्ने हिमाली गाउँपालिको –४ नम्बर कवाडीमा सरेपछि लामो समयदेखि उक्त समस्या भइरहेको छ। 

युनामा बस्न नसक्ने भन्दै ८ वर्ष पहिले प्रहरी चौकी तल सरेको थियो। कवाडी पुग्न बिच्छँयाका विभिन्न ठाँउबाट एक दिनदेखि तिन दिन लाग्ने गरेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्रबहादुर मल्लले वताए। सोहीका कारण बन्यजन्तुको चोरी शिकार र जडिबुटी तस्करी हुने गरेको छ। भौगोलीक विकटताले गर्दा चोरी शिकारी तथा तस्करी बढदै गएको उनले बताए।

हिमाली गाउँपालिको र हुम्लाको ताजा मैलाकोट गाउँपालिका सैन हिमाल क्षेत्रमा खुलेआम चोरी शिकार भइरहेको हिमाली –१ कावडा अध्यक्ष लालजित थापाले बताए। उनका अनुसार, बन्दुक र भाला हानेर र कुकुर लगाएर त्यहाँ बन्यजन्तुको शिकार गरिन्छ। जंगली जनावरको शिकार गरी चीनतिर तस्करी हुने गरेको तथा सुरक्षाका लागि प्रशासनसँग पटकपटक कुरा गर्दा पनि बास्ता नभएको वडाअध्यक्ष थापाले बताए। 

त्यस्तै हिमाली गाउँपालिको गुम्वा, कोट, बामु, बौडी क्षेत्रमा रहेका हिमाली र पहाडी क्षेत्रमा समेत चोरी शिकारी हुने गरेको स्थानीले बताए। ‘दशजना भन्दा बढीको हुल बाँधेर मानिसहरु हतियार लिएर जंगल आउँछन्। केही भनौँ भने उल्टै आफुलाई केही गर्लान् भन्ने डर छ’ लालजितले भने। गाउँबाट दुई दिनको दुरीमा रहेको सैन हिमालमा तस्करको अखडा बनेका उनले बताए।

उता जिल्ला प्रहरी कार्यालय बाजुराले भने उक्त स्थान धेरै टाढा भएकाले सुरक्षा दिन समस्या भइरहेको जनाएको छ। सञ्चार सुविधा पनि नभएको र कवाडी प्रहरी चौकीमा जम्मा ७ जना मात्र प्रहरी रहेकाले समस्या भएको जिल्ला प्रहरी कार्यलय बाजुराको भनाई छ।

भौगोलिक बिकटताले सुरक्षा दिन समस्या भएको निमित्त प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले बताए। बिच्छँयाको प्रहरी चौकी साविकको ठाँउमा राख्न पहल भइरहेको भण्डारीले बताए। साथै उक्त क्षेत्रमा सुरक्षाका लागि गृहमन्त्रालयमा पहल भइरहेको समेत उनले जानकारी दिए।

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस