सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीकाे टीकापुरमा ४२ वर्षपछि भारी वर्षा, ३० घर भत्किए

२०७७ साउन १४, ०७:३४ दुर्गा देवकोटा

कैलाली, टीकापुर: अविरल वर्षाका कारण कैलालीमा हजारौँ घर डुबानमा परेका छन्। कैलाली जिल्लाको टीकापुर, भजनी, लम्की चुहा नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकाका अधिकांश बस्ती जलमग्न भएका छन्।

वर्षाका कारण टीकापुर नगरपालिकाका नौवटै वडा डुबानमा परेका छन्। टीकापुर–१ स्थित जमरा नदीमा पानीको सतह बढेर बजार क्षेत्र पूरै डुबानमा परेको छ। त्यस्तै शिवनगर, चमेलीपुर र विजयनगर शिविरमा बाढी बस्ती पसेपछि ३० घर भत्किएका छन्। 

वडा नं २ को सीतापुर, वडा नं ५ शाहीपुर, सिम्रेनी, वडा नं ६ को भगवानपुर, प्रतिपुर, वडा नं ७ को बेलुवा, वडा नं ८ अर्नुवा, वडा नं ९ को खक्रौला गाउँमा सयौँ घर डुबानमा परेका छन्।

जानकी गाउँपालिकाको वडा नं ३, ७, ८, ९ का सबै गाउँ डुबानमा परेका छन्।  स्थानीय भोजबहादुर चौधरीका अनुसार भदौरे, धर्मापुर र अमरावती कुलामा पानीको सतह उच्च भएपछि जानकी गाउँपालिकाका बस्ती डुबानमा परेका हुन्। उता, जोशीपुर गाउँपालिकाका अधिकांश वडा जलमग्न भएका छन्। कान्द्रा र काँडा नदी सतहभन्दामाथि पुगेपछि जोशीपुरमा १,३,५,७ नं वडा डुबानमा परेका छन्। 

भजनी नगरपालिकाको वडा नं २ को मोहनपुर, वडा नं ३ को ढुसी गाउँ, वडा नं ५ को फुलियापुर गाउँमा बाढी पसेको छ। ढुसी गाउँको कान्द्रा नदीमा बनाइएको चेक ड्याम भत्काएर बाढी बस्तीमा पसेको भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले जानकारी दिए।    

भजनीको वडा नं २ र ३ मा काँढा नदीको बाढी र वडा नं ५ मा कान्द्रा नदी बढेर बाढी आउँदा मोहनपुर, ढुसी र काँडा गाउँमा सयौँ घर डुबानमा परेका छन्। नदीमा पानीको सतह बढ्दै गएको र गाउँ डुबान भइरहेकाले स्थानीय तहले सुरक्षित उपाय अवलम्बन गर्न आग्रह गरिरहेका छन्। स्थानीय तहले जोखिममा रहेका बस्तीलाई सार्न थालेका छन्। टीकापुरमा घर भत्किएका परिवारलाई अहिले छिमेकीको घरमा सारिएको छ भने भजनीमा जोखिममा रहेका बस्तीलाई सुरक्षित भवनमा सार्ने कार्य शुरु गरेको भजनीका नगरप्रमुख चौधरीले बताए।

४२ वर्षपछि टीकापुरमा भारी वर्षा
पछिल्लो २४ घण्टामा कैलालीमा अविरल वर्षा भएको छ। वर्षाले यहाँका धेरै बस्ती डुबानमा परेका छन्। हजारौँ घरपरिवार प्रभावित भइकेका छन्। कच्ची घर भत्किन थालेका छन् भने बस्तीमा रुख पनि ढल्न थालेका छन्। अहिलेसम्म मानवीय क्षति भने भएको छैन। जल तथा मौसम विज्ञान विभागका अनुसार मङ्गलबार बिहान ८ः४५ देखि बुधबार बिहान ८ः४५ सम्म टीकापुर क्षेत्रमा २७१ दशमलव दुई मिलिमिटर वर्षा भएको छ।    

बाढी पूर्वानुमान महाशाखाका अनुसार टीकापुरमा मङ्गलबार राति तीन घण्टामा ११० मिलिमिटर वर्षा भएको छ। टीकापुरमा यसअघि सन् १९७८ जुलाई १८ मा एकैदिन दुई ९८ दशमलव नौ मिलिमिटर पानी परेको विभागले जानकारी दिएको छ।
 

दुर्गा देवकोटा दिनेश खवरका टीकापुर संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस