सुदूरपश्चिममा ९५ प्रतिशत रोपाई सकियो
धनगढी : रोपाईका लागि आवश्यक जनशक्तिको अभाव नभएपछि सुदूरपश्चिम प्रदेशमा यो वर्ष समयमा नै रोपाई भएको छ। सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको कृषि निर्देशनालयका अनुसार प्रदेशमा ९५ प्रतिशत भूभागमा रोपाई सकिएको छ।
कोरोना भाइरसका कारण गरिएको लकडाउनपछि वैदेशिक रोजगारीमा रहेकाहरु पनि गाउँ फर्किएका र समयमा नै वर्षा भएपछि प्रदेशमा रोपाई सकिनै लागेको हो। सुदूरपश्चिम प्रदेशमा एक लाख ८१ हजार हेक्टर क्षेत्रमा रोपाई हुन्छ। यो क्षेत्रफलको ९५ प्रतिशत अर्थात एक लाख ७२ हजार हेक्टर क्षेत्रफलमा आइतबारसम्म रोपाई सकिएको छ।
गत महिनाको तुलनामा यो वर्ष बढी क्षेत्रफलमा रोपाई भएको हो। कैलाली कञ्चनपुरमा त ९८ प्रतिशत रोपाई सकिएको प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको कृषि ज्ञान केन्द्र महेन्द्रनगरका प्रमुख रामचन्द्र भट्टले बताए।
‘कोरोना भाइरस (कोभिड–१९) को संक्रमणपछि वैदेशिक रोजगारीमा गएकाहरु फर्किएपछि रोपाई पनि चाँडै भएको हुनुसक्छ। वर्षा पनि राम्रो भएको थियो। एक÷दुई प्रतिशत रोपाई बाँकी होला।’ उनले भने।
गत वर्ष साउन महिनाको अन्तिमसम्म ९६ प्रतिशत क्षेत्रफलमा मात्र रोपाई भएको थियो भने अहिलेको समयसम्म ७० प्रतिशत रोपाई पनि सकिएको थिएन्। सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले प्रदेशमा यो वर्ष रोपाई समयमा भएको बताए।
सुदूरपश्चिम प्रदेशको अछाममा १६ हजार पाँच सय ८० हेक्टर, डोटीमा १० हजार ८ सय ९८ हेक्टर, कैलालीमा ७१ हजार सात सय १५ हेक्टर, कञ्चनपुरमा ४८ हजार तीन सय ७५ हेक्टरमा धान खेती हुदै आएको छ।
यस्तै डडेल्धुरामा छ हजार दुई सय २६ हेक्टर, दार्चुलामा चार हजार चार सय ८० हेक्टर, बाजुरामा सात हजार दुई २० हेक्टर, बझाङमा सात हजार एक सय १० हेक्टर र बैतडीमा नौ हजार हेक्टरमा धान रोपाई हुदै आएको छ।
वैदेशिक रोजगारबाट फर्किएका युवा कृषिमा लागेको देखिएकाले उनीहरु लक्षित कार्यक्रम पनि चालु आर्थिक वर्षमा सञ्चालन गर्ने तयारीमा रहेको प्रदेशको कृषि निर्देशनालयको निर्देशक जोशीले बताए। ‘भारतबाट ठुलो संख्यामा युवाहरु फर्किएका छन्। उनीहरुमा कृषि गर्नुपर्छ भन्ने सोच पलाएको छ। प्रदेश सरकारले पनि कार्यक्रमहरु ल्याएको छ।’ उनले भने।