सुदूर नेपाललाई विश्वसँग जोड्दै

गरे नहुने के रहेछ र ?

२०७७ साउन ११, १०:३२ रासस

कर्णाली : चैतेधान खेतमा लहलह झुल्दा वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतस्थित धुलियाबिटका कृषक दीपक ढकाल औधी मख्ख छन्। करिव ३२ वर्षपछि पहिलोपटक आफ्नै खेतमा लगाएको धान  भित्र्याउन उनी आतुर पनि छन्। अविरल वर्षाले उनलाई धान भित्र्याउन  अवरोध गरिरहेको छ।

उनले आफ्नै एक बिघा जमीनमा गत चैत २८ गते धान रोपेका थिए। करिव १२० दिनमा  विशेषगरी सुक्खायाममा पाक्ने हर्दिनाथ–३ जातको चैतेधान उनले महोत्तरीको जलेश्वरबाट ल्याएका थिए। करिव २८ वर्ष बजारमा विभिन्न पसल राखेर व्यवसाय गरेका उनले दूधवंशी कृषि फार्मका खोलेर रु ५० लाखको माछापोखरीसमेत उक्त स्थानमा निर्माण गरेका छन्।

प्रतिघण्टा ३० हजार लिटर पानी दिनसक्ने डिपबोरिङ निर्माण गरी उक्त पोखरीमा अहिले सात लाख लिटर पानी जम्मा गरिएको छ। यसअघि प्रतिकेजी रु ३०० का दरले ४५ क्विन्टल माछा बिक्री वितरण गरिसकेका उहाँले यही बन्दाबन्दीकै समयमा तीन हजार भुरा माछापालन गरिएको बताए।

बजार व्यवसाय गरेर करिब दुई दर्जन नागरिकलाई रोजगारी दिनुभएका उहाँले मध्यपश्चिम विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर गरेपछि कृषिकर्ममा लाग्ने उत्प्रेरणा मिलेको बताए। “जब मैले ग्रामीण विकास शिक्षा हासिल गरे, त्यसपछि मात्र बुझेँ, मानवजीवनको मुख्य बाँच्ने आधार भनेकै कृषि रहेछ”, उहाँले भन्नुभयो, “विश्वमा कृषिमा आत्मनिर्भर देशहरुले नै विकासमा फड्को मारेका छन्। त्यसर्थ राज्यले यो क्षेत्रलाई प्राथमिकता साथ माथि उठाउनुपर्छ।”

कृषक  ढकालले कृषिलाई मूल जीवन ठानेर पहिलोपटक आफँैले हर्दिनाथ–३ जातको चैतेधान खेती गरेको बताए। उनले अगाडि भने, “गरे नहुने के रहेछ र ? प्राविधिक सल्लाहबिना नै आफैँले जे होला होला भनेर बन्दाबन्दीमै शुरु गरेँ। बन्दाबन्दीमा अरुले क्षति व्यहोर्दा मैले राम्रो लाभ लिन पाएँ। आखिर राम्रै भयो। करिव ६० मुरी धान उत्पादन होला भन्ने अपेक्षा गरेको छु।”

अब अगामी दिनमा यो खेतीलाई विस्तार गर्ने योजना बनाएको उनको भनाइ छ।  उद्योग वाणिज्य सङ्घ सुर्खेतको वाणिज्य उपाध्यक्षसमेत रहेका उनले विसं २०४८ देखि फेन्सी, कस्मेटिक, सिसा पसल गर्दै हाल हार्डवेयर व्यवसाय सञ्चालनमा ल्याए पनि कृषिलाई उद्यमसँग जोडेर अघि बढाउने उद्देश्य रहेको जनाए। उनका अनुसार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा चैतेधान लहलह झुलेपछि आफूलाई मात्र नभई सबै किसानलाई यो खेती गर्न उत्साहित बनाएको छ। प्रदेश तथा यहाँका स्थानीय सरकारलाई चैतेधान खेती गर्ने किसानलाई विशेष अनुदान सहयोग गर्न उनको आग्रह छ। 

सबै सरकारले कृषि क्षेत्रमा जोड दिन ग्रामीण विकास शिक्षा हासिल गरेको जनशक्तिलाई परिचालन गर्नुपर्नेमा उनको जोड थियो। कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कृषक ढकालले गरेको चैतेधान खेतीको अवलोकन गरेका छन्। एउटा व्यक्तिले आफ्नै प्रयासमा गरेको काम निकै प्रशंसा गर्न लायक भएको मन्त्री केसीको भनाइ थियो। 

उनले यस व्यवसायलाई प्रवद्र्धन तथा विस्तार गर्न किसानलाई चैतेधानको बीउ वितरण गर्ने बताए। “यो धानको उत्पादनले कर्णाली प्रदेशको आत्मनिर्भरतामा सहयोग पुग्ने देखिन्छ”, उनले भने, “सुर्खेत, सल्यान, रुकुमपश्चिम, दैलेख र जाजरकोटको तल्लो भागमा यसको उत्पादनमा जोड दिने गरी सरकारले अब कार्यक्रम बनाउँछ।”
 

कमेन्ट लोड गर्नुस