सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा इन्सपेक्टरको कन्चटमा असईको पेस्तोल, एसपी र डिएसपीले आरोपी जोगाए !

२०७७ साउन ७, ०१:४९ खबर संवाददाता

धनगढी : कैलालीमा मदिरा सेवन गरी आफ्नै सिनियर प्रहरी अधिकृतमाथि गोली प्रहार गर्न खोज्ने प्रहरी सहायक निरिक्षकलाई संरक्षण दिईएको आरोप लागेको छ। कैलालीका प्रमुख प्रहरी उपरिक्षक अनुपम शमशेर जबरा र प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले जिल्ला प्रहरी कार्यालयमै कार्यरत प्रहरी निरिक्षक लक्ष्मी जोशीमाथि गोली प्रहार गर्न खोज्ने प्रहरी सहायक निरिक्षक (असई) लाई संरक्षण दिएको आरोप लागेको हो।

धनगढी उप–महानगरपालिका वडा नम्बर १ को शान्तिनगर अस्थायी प्रहरी विटका ईन्चार्ज प्रहरी सहायक निरिक्षक कृष्ण चन्दले डेढ हप्ता अघि प्रहरी निरिक्षक जोशीमाथि मदिरा सेवन गरी गोली प्रहार गर्न खोजेका थिए। प्रहरी स्रोतका अनुसार डिउटीमै मदिरा सेवन गरेर अस्थायी प्रहरी विटमा होहल्ला गरिरहेको खबरपछि प्रहरी निरिक्षक जोशीको नेतृत्वको टोली त्यहाँ पुगेको थियो।

तर प्रहरी सहायक निरिक्षक चन्दले आफ्नो पावर भएको भन्दै जोशीलाई नै सुट गरिदिने भन्दै पेस्तोल कक गरेर कन्चटमा राखेका थिए। त्यहाँ रहेका जुनियर अधिकृतहरुले चन्दको हातबाट पेस्तोल खोसेको प्रहरी स्रोत बताउँछ। ‘यदी जुनियर प्रहरी साथीहरुले चन्दको हातबाट पेस्तोल नखोसेको भए त्यो दिन अप्रिय घटना हुन्थ्यो,’ स्रोतले भन्यो, ‘तर सिनियर अधिकृत भएपनि अप्रिय घटना हुन नदिन उहाँहरु हातबाट पेस्तोल खोस्न बाध्य हुनुभयो।’

सुट गर्ने भन्दै कन्चटमा पेस्तोल ताकेपछि प्रहरी निरिक्षक जोशीको टोली चन्दलाई अस्थायी प्रहरी विटमै छोडेर जिल्ला फर्किएको थियो। आफूलाई सुट गर्ने भन्दै चन्दले पेस्तोल कन्चटमा राखेको घटनाको विषयमा प्रहरी निरिक्षक जोशीले प्रहरी उपरिक्षक जबरा र प्रहरी नायब उपरिक्षक विष्टलाई तत्काल जानकारी गराएका थिए। तर उनीहरुले उल्टै प्रहरी सहायक निरिक्षक चन्दलाई संरक्षण दिदै जोशीमाथि अन्याय गरेको आरोप लागेको छ।

‘चेन अफ कमाण्ड भएको संस्थामा जुनियर अधिकृतले सरकारी हतियारको दुरुपयोग गरी आफ्नै सिनियर अधिकृतलाई सुट गरिदिन्छु भन्ने साहस गर्नु समान्य विषय होईन्। यदी त्यहाँ अरुले उहाँको हातबाट पेस्तोल नखोसेको भए के हुन्थ्यो,’ जिल्ला प्रहरी कार्यालय स्रोतले भन्यो, ‘केही महिना अघि मात्र सरुवा भएर आउनुभएका उहाँहरु (एसपी र डिएसपी) ले माथिल्लो निकायमा जानकारी नै नगरी आर्थिक लेनदेनमा घटनालाई गुपचुप बनाईदिनुभयो। आफ्नो प्रहरी अधिकारीलाई न्याय नदिने अधिकृत सामान्य नागरिकलाई न्याय देलान भन्ने विश्वास कसरी गर्ने ? उहाँहरुबाट जिल्लामा शान्ति सुरक्षा कायम होला भन्ने आशा कसरी गर्ने।’

तर जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक जबरा भने पेस्तोल नै ताकेको भन्ने विषयमा आफुलाई जानकारी नभएको दावी गर्छन्। ‘पेस्तोल कक गरेर ताकेको कुरा मलाई पनि थाहा भएन। मापसे गरेको हो। पेस्तोल लिएर भोली तलमाथि गरिदेला भन्ने हो,’ प्रहरी उपरिक्षक जबराले भने, ‘उसलाई आवश्यक विभागिय कारवाही हुन्छ।’

तर जिल्लाका प्रहरी प्रमुखलाई प्रहरी सहायक निरिक्षकलाई विभागीय कारवाही गर्न सक्ने अधिकार हुदैन्। एकजना पूर्व प्रहरी अधिकारीका अनुसार सिपाही, हवलदार सम्मका प्रहरीलाई एसपीले नै कसुरको प्रकृति अनुसार आवश्यक विभागीय कारवाही गर्न सक्छन्। प्रहरी सहायक निरिक्षकको हकमा माथिल्लो निकायमा जानकारी गराउँनुपर्ने हुन्छ।  

तर कैलाली प्रहरीले भने उक्त घटनालाई जिल्लामा मिलाउन खोजेको देखिएको छ। उक्त विषयमा प्रदेश प्रहरी कार्यालयलाई कुनै जानकारी नदिईएको प्रहरी स्रोतको भनाई छ। ‘यो प्रकरणमा प्रहरी सहायक निरिक्षकले मापसे सेवन गरेर होहल्ला गरेको कसुर त छदैछ। सरकारी हतियारको दुरुपयोग गरी इन्सपेक्टरलाई नै सुट गरिदिन्छु भनेर उनले चेन अफ कमाण्डको मात्र उल्लङ्घन गरेका छैनन्। ज्यान मार्ने उद्योग गरेका छन्,’ एक प्रहरी अधिकारीले भने, ‘यो घटनालाई माथिल्लो निकायले गम्भीर रुपमा लिएर छानविन गर्नुपर्छ। प्रहरी संगठनकै बदनाम हुनेगरी घटना मिलाउन खोज्ने एसपी र डिएसपीलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्छ।’

यता सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) उत्तमराज सुबेदीले उक्त घटना बारे आफुलाई कुनै जानकारी नभएको बताउँदै भने, ‘मलाई कुनै रिपोर्ट भएको छैन्। तपाईले जानकारी दिनुभयो म बुझ्छु।’
 

कमेन्ट लोड गर्नुस