सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा पूर्वपश्चिम राजमार्ग मर्मतको काम ठप्प

फाइल फोटो
फाइल फोटो
२०७७ असार ३१, १२:०० रोशन भट्ट

धनगढी : पुर्वपश्चिम राजमार्गको कैलाली खण्ड मर्मतको काम झण्डै चार महिना देखि ठप्प रहेको छ। कोरोना प्रभावपछि जारी लकडाउनका कारण रोकिएको सडक मर्मतको काम पुनः सुरु नभएको हो।

चैत ११ गतेदेखि जारी लकडाउन खुकुलो भएसंगै राजमार्गमा सवारी साधन गुड्ने क्रम पनि बढेको छ। तर ठाउँ–ठाउँमा परेका खाल्डाखुल्डीले आवातजावात गर्न मुस्किल हुने गरेको छ।

अत्तरियाको चौकीडाँडादेखि कैलालीकै चिसापानी सम्मको ८० किलोमिटर सडक मर्मतको काम झण्डै चार महिनादेखि रोकिएपछि आवातजावातमा सास्ती भईरहेको छ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरले तीन वर्षका लागि नियमित सडक मर्मत गर्न कालिका जोशी जेभीलाई ठेक्का दिएको थियो। तर गत चैतको पहिलो साता केही स्थानमा मर्मतको काम भएपनि त्यसपछि घोषणा भएको लकडाउनका कारण राजमार्ग मर्मतको काम पुनः सुरु नभएको निर्माण कम्पनीका संञ्चालक गणेशदत्त जोशीले बताए।

‘अब बर्खा पनि सुरु भयो, यो अवधीमा कालोपत्रे सहितको मर्मत गर्न सकिन्न’, उनले भने, ‘राजमार्ग मर्मतको काम भदौँदेखि मात्र सुरु हुन्छ।’ नियमित रुपमा सडक मर्मत गर्नका लागि १५ करोड ९० लाख बढीमा ठेक्का सम्झौता गरिएको छ।

निर्माण कम्पनीले तीन वर्ष सम्म सडकमा परेका खाल्डाखुल्डी मर्मत गर्ने लगायतका काम गर्नु पर्ने भएपनि नियमित रुपमा मर्मतको काम हुन सकेको छैन्। सडक मर्मतको काम गर्ने अधिकासं मजदुर प्रदेश वाहिर तथा भारतमा रहेका कारण अहिले काम गर्न नसकिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख अर्जुनकुमार बमले बताए।

‘सडक मर्मतको काम गर्ने मजदुर ९० प्रतिशत भन्द बढी भारतका छन्’, उनले भने, ‘बर्खा पनि सुरु भयो अब कालोपत्रे सहितको सम्पुर्ण मर्मतको काम साउनको अन्तिम साता पछि मात्रै हुन्छ।’ सडक मर्मत नहँुदा दुर्घटनाको जोखिम बढेपनि पुनः काम सुरु गर्न ढिलाई भईरहेको छ।

मजदुर अभाव भएको भन्दै लकडाउन अवधीमा काम रोकिएपनि तत्कालै मर्मत कार्य सुरु नहुने देखिएको छ। बर्खा सुरु भएका कारण कालोपत्रेको काम गर्न नसकिने भन्दै सडक मर्मतको काम साउन पछि मात्रै पुनः संञ्चालन हुने देखिएको छ।

तीन वर्षका लागि सडक मर्मत गर्ने जिम्मेवारी पाएको कालिका जोशी जेभीले एक एक वर्ष मात्रै काम गरेको छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस