सुदूर नेपाललाई विश्वसँग जोड्दै

यार्सा ट्रेलको काम जारी

२०७७ असार २७, ११:४५ रासस

रुकुम (पूर्व) पुथाउत्तरगङ्गा गाउँपालिका –१ मैकोटमा यार्सा ट्रेलको काम अघि बढाइएको छ।  आर्थिक वर्ष सकिनै लाग्दा यार्सा पदमार्गको कामलाई तीव्रता दिइएको हो। 

तत्कालीन सशस्त्र द्वन्द्वका बेला छापामार हिँडेको बाटो र तिनले तालीम लिएको ठाउँलाई पर्यटन पूर्वाधारको विकास गर्ने उद्देश्यले मैकोटमा यार्सा ट्रेलको विकास गर्न लागिएको छ।  गाउँपालिकामा बहुमूल्य यार्सागुम्बालगायत जडिबुटी पाइने हुनाले पनि त्यस क्षेत्रमा यार्सा ट्रेलको विकास गरिँदै छ। 

चालु आवमा प्रदेश ५ उद्योेग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको २५ लाख बजेटबाट एक हजार ५४३ मिटरमा काम गर्नुपर्ने वडा नम्बर १ का वडाध्यक्ष मकरबहादुर गुरुङले बताए। उनका अनुसार अहिले  ८० प्रतिशत काम सकिएको छ। बाँकी २० प्रतिशतको काम भइरहेको छ। 

मैकोटको चितुबाङ भन्ने ठाउँलाई जिरो प्वाइन्ट मानी यार्सा ट्रेल निर्माण गरिँदै छ। वडाध्यक्ष गुरुङका अनुसार चितुबाङबाट शुरु भएको पदमार्ग कोइजो डाँडा, कोयधारा, गर, उया हुँदै पिरियोर डाँडामा पुग्ने छ। त्यस ठाउँबाट पनि यस मार्गलाई अगाडि बढाएर फोक्सुण्डो हँुदै मुगुको रारा जोड्ने लक्ष्य प्रदेश सरकारले लिएको छ।  

यार्सा पदमार्ग निर्माणको काम सकिएसँगै यसबाट मैकोटको पर्यटन क्षेत्रको विकास गर्न सकिने बताइएको छ। अहिले एक हजार ५४३ मिटरमा मात्र काम हुने र बाँकी प्रदेश सरकारको क्रमागत बजेटबाट आउँदो आवमा गरिने वडाध्यक्ष गुरुङले बताए।

पुथाउत्तरगङ्गा – १ र २ मा यस्ता थुप्रै खालका पर्यटकीय गन्तव्य भए पनि पूर्वाधारको विकास र प्रचारप्रसार नहुँदा पर्यटन क्षेत्रमा विकास र लाभ लिन नसकिएको स्थानीयवासीले बताएका छन्। 
 

कमेन्ट लोड गर्नुस