सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीमा जनप्रतिनिधि पिच्छे योजना कार्यान्वयनका फरक–फरक प्रक्रिया

२०७७ असार २१, ११:४९ कमल सावद

धनगढीः कैलालीको गोदावरी नगरपालिकाका नगर प्रमुख हरिसिँह साउँदको घर जाने सडकको ३९ लाखको योजना उपभोक्ता समित मार्फत कार्यान्वयन हुँदैछ। उपभोक्ता समिति मार्फत २० लाखमा ग्रावेल गरिएकोमा पुनःसोही योजनामा १९ लाख थप गरिएको छ।

सोही वडामा ढल निकासका योजना पनि उपभोक्ता समिति मार्फत कार्यान्वयन गरिदैछन्। पाँच लाख भन्दा माथिका सम्पूर्ण योजना ठेक्का प्रक्रिया मार्फत गर्ने दावी गरेको नगरपालिकाले कार्यकर्ता खुसी बनाउन रकम थप गर्दै योजना कार्यान्वयन गरिरहेको आरोप केही वडाध्यक्षहरुले लगाएका छन्।

गोदावरी नगरपालिका वडा नम्बर १२ का अध्यक्ष भीमबहादुर खड्काले नगर प्रमुखले काँग्रेसबाट विजयी भएका वडाहरुको बजेट फ्रिज गरेको बताए। ‘मेयरको वडामा पनि अहिले उपभोक्ता समिति मार्फत काम हुँदैछ। अन्य नेकपाले जितेका वडामा पनि उपभोक्ताबाटै काम गरिदैछ।

तर हाम्रो वडामा मात्र पाँच लाख भन्दा माथिका योजनाको ठेक्का सम्झौता गरिएको छ।’ उनले भने। गोदावरी नगरपालिकाका नगर प्रमुखको वडामा मात्र नभएर नेकपाबाट विजयी भएका वडाअध्यक्षको वडामा पनि उपभोक्ता समिति मार्फत योजना कार्यान्वयन हुँदैछ। तर नेपाली काँग्रेसबाट वडा अध्यक्ष निर्वाचित भएका वडामा भने टेण्डर मार्फत कार्यान्वयनका लागि योजना सम्झौता गरिएको छ।

वडा नम्बर १० का अध्यक्ष रबिन्द्र शाहीले मेयर सबै वडाध्यक्षको अभिभावक भएपनि सो अनुसारको व्यवहार नभएको बताए। ‘मेयर सबैका हुन्। हाम्रा पनि अभिभावक हुन्। तर उहाँको व्यवहार त्यस्तो छैन्। काँग्रेसबाट वडाध्यक्षमा बिजयी भएका वडाहरुमा ठेक्का गरिएको छ। फायल पनि सदर हुन समय लाग्ने गरेको छ। तर नेकपाबाट बिजयी भएका वडाहरुमा भने उपभोक्ता समितिलाई पनि तुरुन्त भुक्तानी दिईएको छ। उहाँहरुको सबै प्रक्रिया पुरा भएकै होला त?’ उनले भने।

नगरपालिकाल चालु आर्थिक वर्षमा झण्डै एक अर्ब पाँच करोडको बजेट सार्वजनिक गरेको थियो। चालु आर्थिक वर्षमा गोदावरी नगरपालिकाले झण्डै एक अर्ब ५ करोडको बजेट ल्याएको थियो। कार्यकर्ता खुसी बनाउनकै लागि नेकपा विजयी भएको वडामा मात्रै बढि बजेट छ्टयाईएको आरोप पनि लागेको छ।

ठेक्काबाट सञ्चालन गर्नुपर्ने योजना पनि उपभोक्ता समिति मार्फत कार्यान्वयन गर्दा अनियमितता भएको आरोप पनि लागेको छ। तर नगर प्रमुख हरिसिँह साउँदले कालोपत्रेका योजना मात्र ठेक्का सम्झौता मार्फत कार्यान्वयन गरिएको बताए। ‘सडक कालोपत्रे गर्ने योजना मार्फत ठेक्का भएका हुन्।

बाँकी भएका छैनन्। काँग्रेसबाट विजयी भएका वडाहरुमा मात्र त्यस्तो गरिएको छैन्।’ उनले भने।  कैलालीमा उपभोक्ता समितिहरु भ्रष्टाचार गर्न सिकाउने पाठशाला बनेपनि ठेक्का मार्फत योजना कार्यान्वयन गर्न आनाकानी भएको छ।

ठेक्का प्रक्रिया मार्फत योजना कार्यान्वयन गर्दा कार्यकर्ता रिसाउने भन्दै उपभोक्ता समिति मार्फत नै योजना कार्यान्वयन भईरहेको हो। जिल्लाको गोदावरी नगरपालिकाले पनि पाँच लाख बढिका योजना ठेक्का प्रक्रिया मार्फत कार्यान्यन गर्ने बताएकोमा अहिले आएर उपभोक्ता मार्फत कार्यान्वयन भईरहेको छ।

नगरपालिकाले कार्यकर्ता खुसी बनाउन जनप्रतिनिधि र वडैपिच्छे छुट्टाछुट्टै प्रक्रिया अपनाएको आरोप लागेको छ। काँग्रेसको वडाध्यक्ष भएको वडामा पाँच लाख बढिका योजना ठेक्का प्रक्रिया मार्फत कार्यान्वयन गरिएको छ भने नेकपा बिजयी भएको वडामा आधा करोडका योजना पनि उपभोक्ता मार्फत नै कार्यान्वयन भईरहेका छन्। 
  

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस