धनगढीका कागजात किर्तेका अभियुक्तलाई पीसीआर मेसिन खरिदको ठेक्का
धनगढी : धनगढीमा कागजात कीर्ते गरेको अभियोग लागेका व्यवसायी दुस्यन्त बस्नेतलाई नै पीसीआर मेसिन खरिदको ठेक्का दिईको पाईएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले बस्नेत सञ्चालक रहेको डिबी मेसिनलाई नै पीसीआर मेसिन खरिद गर्ने ठेक्का दिएको पाईएको हो।
आपूर्ति व्यवस्थापन केन्द्रका सूचना अधिकारी लक्ष्मीकुमार श्रेष्ठले बायोसेफ्टी लेवल–२ प्रयोगशाला उपकरण खरिदका लागि डीबी मेडिसिन सेन्टर छनोटमा परेको र आपूर्ति पनि थालिसकेको जानकारी दिए ।
सार्वजनिक खरिद ऐनको समेत धज्जी उडाउँदै अर्को फार्म भन्दा बढि कबोल अंक हालेको सरकारी कागजात कीर्ते गरी टेन्डर हत्याउँदै आएका अभियुक्त बस्नेतको फार्मलाई ठेक्का दिईएको छ। डीबी मेडिसिन सेन्टरले टेन्डरमा ४ करोड २७ लाख ९२ हजार (करबाहेक) मा सामग्री आपूर्ति गर्ने भन्दै पेश गरेको टेण्डर स्वीकृत गर्दै आपुर्ति व्यवस्थापन केन्द्रले ठेक्का सम्झौता गरेको छ।
तर उसको फार्म भन्दा कम कबोल गरेका दुईवटा फार्म भने छनौटमा परेनन्। सेरो डाइग्नोस्टिक टे«डर्स नेपालले सोही टेण्डरका लागि दुई करोड ७६ लाख ४३ हजार छ सय ८७ कबोल अंक हालेको थियो भने बायोमेड इन्टरनेसनल प्रालिले आह्वान भएका दुई वटा प्याकेजका लागि तीन करोड ३६ लाख ९० हजार नौँ सय ५० रुपैयाँ कबोल रकम उल्लेख गरेको थियो।
तर दुई वटै प्याकेजको लागि भन्दै व्यवसायी बस्नेतको फर्म डीबी मेडिसिनले ९१ लाख १ हजार ५० रुपैयाँ बढी रकम ४ करोड ८३ लाख ५४ हजार नौँ सय ६० मा ठेक्का पाएको हो। धनगढीको डीबी मेडिसिन र अमित मेडिसिन डिस्ट्रब्यूटर्सका सञ्चालक रहेका दुस्यन्त बस्नेतमाथि कागजात किर्ते गरेर टेण्डर हत्याएको अभियोग छ।
गेटा आँखा अस्पतालमा पेश गरिएको प्रमाणपत्रमा उनले आन्तरिक राजस्व कार्यालयमा हुँदै नभएको चलानी नम्बर, मिति र कर अधिकृतको हस्ताक्षर गरेको पाइएको थियो। बस्नेतले नक्कली बनाएको कर चुक्तामा हस्ताक्षर गरेका भनिएका कर अधिकृतको एक वर्षअघि नै सरुवा भइसकेको थियो।
२०७६ मंसिरको १३ गते बस्नेतले नक्कली कर चुक्ताको प्रमाणपत्र पेश गरेको खुलेपछि उनी फरार थिए। मंसिर १३ गते उनले नक्कली करचुक्ता गरेर कीर्ते कागजात पेश गरेको खुलेपछि उनलाई मंसिर १६ गते कैलाली प्रहरीले अदालतको आदेश अनुसार पक्राउ पूर्जी जारी गरेको थियो। अदालतले उनलाई धरौटीमा रिहा गरेको छ भने कीर्ते मुद्दा विचाराधीन रहेको छ।