प्रदेश राजधानीमै सडकको बेहाल
धनगढी : धनगढी उप–महानगरपालिका वडा नम्वर २ बैयाबेहडीकी स्थानीय मिना डगौरा धनगढीमा विद्युतीय रिक्सा चलाउँछिन्। धनगढीको मुख्य सडकसंगै शाखा सडकहरुमा पनि रिक्सामा यात्रु बोक्ने उनी सडकमा परेका खाल्डाका कारण हैरान भएकी छिन्।
‘धनगढीका विभिन्न क्षेत्रबाट बिरामीलाई समेत अस्पताल ल्याउनु पर्ने हुन्छ। खाल्डाखुल्डीले सडकमा रिक्सा चलाउनै मुस्किल छ।’ उनले भनिन्। धनगढी बजार क्षेत्रको मुख्य सडकसंगै भित्री सडकहरुमा परेका खाल्डाले आवागमनमा सास्ती भएको हो।
मुख्य सडकपछि सबैभन्दा बढि आवागमन हुने शहिदगेट–क्याम्पसचौक सडक र भन्साररोड–गुल्म हुँदै चर्च जोड्ने सडकमा दर्जर्नाै खाल्डाखुल्डी परेपछि आवागमनमै समस्या हुन थालेको हो। सडक मर्मत समेत नभएको बर्षाै भईसकेको बताउँदै धनगढीकै ईन्द्र चौधरीले भने, ‘पानी परेको दिन सवारी साधन चलाउन मात्रै होईन पैदल हिड्न समेत समस्या छ।’
चालु आर्थिक वर्ष २०७६/०७७ मा सडक विभागले पठाएको रकमले मुख्य सडक मर्मतको ठेक्का दिएकोमा शाखा सडकमा भने कुनै योजना छैन्। उप–महानगरपालिका क्षेत्रीय शहरी विकास आयोजना मार्फत सडक कालोपत्रे हुने भन्दै मर्मतको पनि योजनाहरु नराखेको जनाएको छ।
धनगढी उप–महानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले पनि अधिकासं भित्रि सडक क्षेत्रीय सहरी विकास आयोजना मार्फत निर्माण हुने बताए। ‘शाखा सडक मर्मतका लागि उप–महानगरपालिकाले कुनै योजना राखेको छैन्,’ उनले भने, ‘विभिन्न सडक त एसियाली विकास बैंकको ऋण लगानीमा लागु भएको क्षेत्रीय सहरी विकास आयोजनाले निर्माण गर्नेछ।’
क्षेत्रीय सहरी विकास आयोजनाले निर्माण गर्ने भन्दै धनगढीका आधा दर्जन बढि सडक झण्डै पाँच बर्षदेखि होल्ड गरिएका छन्। ति सडकमा मर्मतको योजना समेत राख्न छोडिएको छ। तर आयोजना लागु भएको ढाई बर्ष पुगिसक्दा समेत सडक निर्माण भने सुरु भएको छैन्।