सुदूर नेपाललाई विश्वसँग जोड्दै

यसरी गरियो कैलालीका कोरोना संक्रमितको शव व्यवस्थापन (फोटोसहित)

२०७७ असार १३, ०४:४८ खबर संवाददाता

जय पाठक, चितवन: चितवनमा मृत्यु भएका कैलालीका कोरोना संक्रमितको शव व्यवस्थापन गरिएको छ।

भरतपुरको नेपाल सेनाको कालीबहादुर गणको टोलीले मृतक पुरुषको शव व्यवस्थापन गरेको हो। आफन्तको उपस्थितिमा शव भरतपुर महानगरपालिका १ स्थित वागेश्वरी जंगलमा गाडिएको छ। कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको भरतपुर अस्पतालको आईसीयूमा उपचारको क्रममा शनिवार बिहान ७ बजे मृत्यु भएको थियो।  

७ महिना अघिदेखि फोक्सोको क्यान्सर भएका उनको भरतपुर अस्पतालको कोभिड –१९ आईसीयूमा जटिल अवस्थामा उपचारको क्रममा मृत्यु भएको अस्पतालका कोभिड –१९ क्लिनिकल संयोजक एवम् वरिष्ठ फिजिसियन डा. प्रमोद पौडेलले जानकारी दिए। उनका अनुसार मृतक पुरूष भारतमा फोक्सोको क्यान्सरको उपचार गराएर एक महिना अघि घर फर्किएका थिए। चारपटक केमोथेरापीसमेत लगाएका थिए। खकारमा रगत देखा पर्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएको थियो।

स्वास्थ्यमा समस्या देखिएपछि स्थानीय अस्पतालमा समेत उपचार सम्भव नभएपछि असार १० गते चितवन मेडिकल कलेजमा ल्याएर आइसोलेसन वार्डमा राखेर उपचार शुरू गरिएको थियो। 

कोरोना परीक्षण गर्दा बिहिवार पोजेटिभ देखिएपछि सोहि दिन नै उनलाई भरतपुर अस्पतालको आइसोलेसन ल्याइएको थियो। उनलाई श्वासप्रश्वासमा समस्यासँगै स्वास्थ्यमा थप जटिलता देखिएपछि शुक्रवार कोभिड –१९ आईसीयूमा सारीएको थियो। उनको त्यहीँ उपचारको क्रममा शनिवार बिहान निधन भएको हो। 

कमेन्ट लोड गर्नुस