धनगढीमा सुुरु भयो कोभिड–१९ प्रतिकार्य कार्यक्रम
धनगढी : धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएका क्वारेन्टीन र आईसोलेशन व्यवस्थापनमा थप सहयोग पु¥याउन कोभिड–१९ प्रतिकार्य कार्यक्रम सुरुआत गरिएको छ।
ती दुई क्षेत्रमा खानेपानीको व्यवस्थापन, सरसफाई र त्यहाँ उत्पादन हुने फोहरमैलाको व्यवस्थापन गर्ने उद्देश्यले सो कार्यक्रम सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ। कोरोना जोखिमलाई कम गर्ने मुख्य ती दुई क्षेत्र व्यवस्थापनलाई सो कार्यक्रमले थप सहयोग पुग्ने जनाइएको छ।
जर्मन अन्तराष्ट्रिय सहयोग नियोग (जिआइजेड)को संयोजनमा यहाँस्थित जर्मन राजदुतावास र नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको साझेदारी कार्यक्रम सुरु भएको नगर प्रमुख नृपबहादुर वडले बताए।
सो कार्यक्रम अन्तर्गत ६४ लाख रकम खर्च हुने सोसाइटीका जिल्ला शाखा सभापति उत्तम जोशीले जानकारी दिए। उनले कार्यक्रम सञ्चालनका लागि आज उपमहानगरपालिकासँग समन्वयात्मक बैठक सम्पन्न भएको जानकारी दिए।