सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा सम्झौता अनुसार डायलासिस मेसिन राख्न बिरंग हेल्थ केयरको अटेरी

२०७७ असार १२, ०१:०३ जनक विष्ट

धनगढी : बिरंग हेल्थ केयर प्रालीले सेती अस्पतालमा सञ्चालन गरेको डायलासिस वार्डमा सम्झौता अनुसार मेसिन राख्न समेत आनाकानी गरिएको छ। स्वास्थ्य सेवा विभागको समन्वयमा पाँच वर्षका लागि अस्पतालमा डायलासिस सेवा सञ्चालन गर्ने अनुमती पाएको हेल्थ केयर प्रालीले दुई वर्ष बित्दा समेत सम्झौता अनुसार मेसिन नराखेको हो।

संघिय स्वास्थ्य मन्त्रालयको समन्वयमा सेती प्रादेशिक अस्पताल र बिरंग हेल्थ केयर प्रालीबीच २०७४ को फागुनमा भएको डायलासिस वार्ड सञ्चालन सम्बन्धी सम्झौता अनुसार १० वटा मेसिन राख्नुपर्ने हो। तर बिरंग हेल्थ केयर प्रालीले अहिले ६ वटा डायलासिस मेसिनबाट मृगौला पीडितलाई डायलासिस सेवा दिईरहेको छ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले सम्झौतामा १० मेसिन सञ्चालन गरी दैनिक प्रती मेसिनबाट तीन वटा सिफ्टमा सञ्चालन गर्नुपर्ने उल्लेख भएको बताए। तर बिरंगले अहिले ६ वटा मेसिनबाट मात्र सेवा दिदै आएको उनले जानकारी दिए।  

भविष्यमा आवश्यकताका आधारमा डायलासिस मेसिन र सिफ्ट थपघट गर्न सकिने कुरा सम्झौतामा भएपनि बिरंग हेल्थ केयर प्रालीले दुई वर्ष सम्म सम्झौता कार्यान्वयन नगरेको हो। बिरंगले अहिले ६ वटा मेसिनबाट नियमित डायलासिस सेवा दिदै आएको जनाएको छ भने थप मेसिनको आवश्यकता नभएकाले व्यवस्थापन नगरेको दावी उसले गर्दै आएको छ।

बिरंग हेल्थ केयर प्रालीको सेती अस्पतालको डायलासिस वार्डका व्यवस्थापक दीपक भट्टले बिरामीको चाप अनुसार मेसिन थप्ने योजना रहेको सुनाए। उनले चारवटा मेसिनबाट सेवा सुरु गरिएको बताउँदै बिरामीको चाप बढ्दै गएपछि दुईवटा थप गरिएकाले सोही अनुसार फेरी थप्दै जाने बताए।

हुन त कोरोना भाईरसको महामारीपछि नियमित रुपमा डायलासिस गराउँदै आएका धेरैजसो मृगौला पीडितहरु सवारी साधनको अभाव, आर्थिक अभाव लगायतका कारणले अस्पताल सम्म आउन सकेका छैन्। हप्तामा तीन पटक डायलासिस गराउँदै आएकाहरु जेनतेन एक पटक मात्रै अस्पताल आउने गरेका छन् भने कतिको त यो अवधीमा मृत्यु भईसकेको छ।

यसअघि साप्ताहिक ६० बढिले नियमित डायलासिस गराउँदै आएको भएपनि अहिले त्यो संख्या घटेर ५० जनामा सिमित भएको बिरंग हेल्थ केयर प्रालीले जनाएको छ। नियमित डायलासिस सेवा दिएमा ५० जनाकै लागि पनि अहिले मौज्दात मेसिन पर्याप्त नभएपनि चाप नभएको भन्दै थप्न आनाकानी गरिएको छ।

सेती प्रादेशिक अस्पतालले भने डायलासिस वार्डमा सम्झौता अनुसार मेसिन राख्न ताकेता गर्न नसक्दा समस्या हुँदै आएको दावी गरिएको छ। तर अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले भने बिरंगलाई पटक पटक सम्झौता अनुसार मेसिन राख्न भनिएको दावी गरे।

सुदूरपश्चिममा सेती अस्पतालमा मात्र डायलासिस सेवा उपलब्ध भएपनि व्यवस्थित नहुँदा मृगौला पीडितले सास्ती खेप्नु पर्ने बाध्यता रहेको गुनासो गरिदै आएको छ।  

  
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस