कृषकलाई खाडल अनुदानसहित ६० हजार फलफूलका बिरुवा
पर्वतको फलेवास नगरपालिकाले कृषकलाई व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित गर्नका लागि खाडल अनुदानसहित बिरुवा वितरण गर्न थालेको छ। बिरुवा मात्र अनुदानमा दिँदा कृषकको ‘एक हातमा कुटो र अर्को हातमा बिरुवा’ हुने तर तरिकाले बिरुवा नरोप्ने समस्या बढेपछि खाडल खन्नका लागिसमेत आर्थिक सहयोग गर्ने भएको हो। चालु आर्थिक वर्षमा खाडल अनुदानसहित फलफूल बिरुवा अनुदानमा उपलब्ध गराएको नगरप्रमुख पदमपाणि शर्माले बताए।
नगरपालिकाले गत मङ्सिरमा कृषकलाई सूचना जारी गरी आवश्यक बिरुवाको माग सङ्कलन गरी वैशाखसम्ममा खाडल खनिसक्नुपर्ने सूचना जारी गरेको थियो। उक्त खाडलको अनुगमन सामाजिक अभियान्ता, जनप्रतिनिधि र प्राविधिकसहितको टोलीले वैशाख २१ गतेबाट ३० गतेसम्म गरेको थियो। उक्त खाडलको अनुगमनको आधारमा नगरपालिकाले आँप, लिची, सुन्तला र कागतीका बिरुवा अनुदानमा कृषकलाई उपलब्ध गराएको छ।
नगरपालिकाले दुई हजार आँप, दुई हजार लिची, १५ हजार कागती र ४० हजार सुन्तला वितरण गरेको नगरपालिकाका कृषि अधिकृत सन्तोष सुवेदीले बताए। त्यसैगरी नगरका पाखो बारीमा फलफूल रोपी नगरलाई फलफूलमा आत्मनिर्भर बनाई कृषकको आयस्तर वृद्धि गर्ने उद्देश्यले समग्र नगरपालिकालाई समृद्धितर्फ अगाडि बढाउने नीति लिएको नगरप्रमुख शर्माले बताए।
करिब रु २० लाखको लागतमा सञ्चालन गरिएको यस कार्यक्रममा खाडल अनुदान सुन्तला कागतीको १५ लिची को रु २५ र आँपको ३० रहेको छ। त्यसैगरी कृषकले कागती ४–५ मिटर, सुन्तला ५–६ मिटर र आँप लिची ८–१० मिटरको दूरीको फरकमा सुन्तला कागतीको लागि २ दशमलव ८२ फिटको खाडल र आँप लिचीको लागि ३ दशमलव ८३ फिटको खाडल खनेपछि मात्र खाडल अनुदान पाउने छन्। आँप अम्रपाली, लिची सिडलेस, कागती सुनकागती–१ र सुन्तला स्थानप्य जातका बिरुवा वितरण गरिएको नगरपालिका कृषि अधिकृत सुवेदीले बताए।
कृषिमार्फत समृद्धि हासिल गर्नका लागि नगरले प्रत्यक्षरुपमा कृषकलाई लाभ पुग्ने खालका कार्यक्रम अघि सारेको छ। नगरले आगामी आर्थिक वर्षका लागि पनि ‘एक घर, एक बगैँचा’ र ‘क्लिन फलेवास ग्रिन फलेवास’लगायत कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको नगर उपप्रमुख मञ्जु अधिकारीले बताए।