धनगढीमा मुख्य सडककै दुर्दशा
धनगढी : क्याम्पसचाेक क्षेत्रमा बस्दै आएका चन्द्र बगाले चार वर्षदेखि धनगढीमा विद्युतीय रिक्सा चलाउदै आएका छन्। धनगढीको मुख्य बजारसंगै उनी अन्य क्षेत्रमा पनि विद्युतीय रिक्सा चलाउछन्।
चार बर्षमा सवारी साधन बढेका छन्, यात्रु बढेका छन् तर सडक स्तरबृद्धि भएको भने उनलाई सम्झना छैन्। ‘मुख्य सडकमै रिक्सा गुडाउँन समस्या छ,’ उनले भने, ‘सुरुमा भाडामा लिएर रिक्सा लिएर चलाएको हुँ। अहिले आफ्नै छ। मेरो रिक्सा परिवार्तन भएको छ। तर सडक उस्तै छ। खाल्डैखाल्डा छन्।’ उनले अगाडी थपे, ‘बिचमा चलाए खाल्डा छन्। साघुरो सडक छ, छेउमा चलाउनै सकिन्न। खाल्डामा रिक्सा गए ग्राहक रिसाउछन्। अहिले म त यात्रु भन्दा पनि सामान बोक्न सजिलो मान्छु।’
अस्थायी राजधानी धनगढीको मुख्य सडकमा दर्जर्नाै खाल्डा परेपछि आवतजावतमा सास्ती भएको गुनासो धनगढीकै दिर्घराज तिवारीको छ। साघुरो सडकमा खाल्डैखाल्डा भएकाले प्रत्येक दिन दुर्घटना समेत हुने गरेको उनले बताए। ‘धनगढी चौराहदेखि कैलाली पुल सम्मको सकडको तुलनामा कैलाली पुलदेखि जिल्ला प्रहरी कार्यालय सम्मको क्षेत्रमा बढि खाल्डा छन्। सो क्षेत्रको सडकको चौडाई पनि कम छ।’ उनले भने।
प्रत्येक वर्ष संघीय सरकारको सडक विभागले उप–महानगरपालिका क्षेत्रका सडक मर्मतका लागि बजेट दिदै आएको छ। तर धनगढीको मुख्य सडक क्षेत्रमा पानीका पाइप बिस्तार गर्दा खनिएका खाल्डा समेत मर्मत हुँदैनन्। तर धनगढी उप–महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरीले मुख्य सडक मर्मतका लागि ठेक्का सम्झौता भएको बताए। उनले भने, ‘धनगढीको मुख्य सडक मर्मतका लागि ठेक्का भएको छ। तर लकडाउनका कारण काम भएन्। नाली मर्मत सहितको ठेक्का भएकाले अहिले अस्पताल लाईनमा काम हुँदैछ।’
झण्डै एक करोडमा चन्द्रशेखर मल्ल सञ्चालक रहेको निर्माण कम्पनीले कैलाली पूलदेखि पूर्व तर्फ मुख्य सडक निर्माणको जिम्मा पाएको छ। कैलाली पुलदेखि चौराहसम्म भने संघीय सरकारको क्षेत्रीय सहरी विकास आयोजना मार्फत सडक निर्माणको योजना छ।