सुदूरपश्चिममा कोरोनाका कारण उपचार नपाउँदा मृगौला पीडित ज्यान गुमाउन बाध्य
धनगढी : स्वास्थ्यमा समस्या देखिएपछि डडेल्धुरा अस्पताल पुगेका बैतडीको मेलौलीका ४७ वर्षीया रामी धानुकलाई डायलासिस गराउनुपर्ने भन्दै धनगढी रेफर गरियो। असार ७ गते धनगढी पुगेका धानुकलाई सेती प्रादेशिक अस्पतालका चिकित्सकले पनि चेकजाँच गरेपछि मृगौला सम्बन्धीको जटिल समस्या बनिसकेकाले डायलासिस गराउन सल्लाह दिए।
सेतीको मेडिकल वार्डमा भर्ना भएका धानुकलाई अस्पतालमै बिरंग हेल्थ केयर प्रालीले सञ्चालन गरेको डायलासिस वार्डले पीसीआर रिर्पोट बिना डायलासिस गराउन मानेन भने अस्पताल भर्ना भएको दुई दिनपछि मंगलबार साँझ मात्र उनको थ्रोट स्वाबको नमूना संकलन गरियो।
धानुकको मंगलबार साँझ नै अस्पतालको मेडिकल वार्डमा मृत्यु भयो। तर बुधबार मात्र कोरोना परीक्षण भई रिर्पोट नेगेटिभ आएको छ। ‘अस्पतालको गम्भीर लापरवाहीले डायलासिस गराउन नपाउँदा उनले मृत्युवरण गर्नुपर्यो।’ मृतकका भतिजा धनबीर धानुक भन्छन्, ‘बिरामी भएपछि अस्पताल आएपनि उपचार नपाएरै मर्नुपर्छ भने किन चाहिए अस्पताल? गरिबको नियती यस्तै रहेछ।’
धानुक मृगौला सम्बन्धी रोगको पूराना बिरामी नभएपनि कोरोनाको कारण देखाउँदै बिरंग हेल्थ केयर प्रालीले डायलासिस गराउन आनाकानी गरेपछि अकालमै ज्यान गुमाउनुपरेको हो। कुनै ट्राभल हिस्ट्री समेत नभएका धानुकको जटिल स्वास्थ्य अवस्थाको वेवास्ता गर्दै बिरंग हेल्थ केयर प्रालीले पीसीआर रिर्पोट खोज्न थालेपछि र अस्पतालले पीसीआर परीक्षणमा ढिलाई गर्दा उनको मृत्यु भएको आफन्तले आरोप लगाएका छन्।
तर बिरंग हेल्थ केयर प्रालीको डायलासिस वार्डका व्यवस्थापक दिपक भट्ट भने मृतक भारतबाट फर्किएकाले पीसीआर रिर्पोट मागिएको दावी गर्छन्। उनले भने, ‘पीसीआर रिर्पोट अनिवार्य त हैन् तर मृतक भारतबाट फर्किएर बैतडी, डडेल्धुरा हुँदै धनगढी आएकाले हामीले परीक्षण गर्न भनेका हौँ।’
अस्पतालले समेत आफूहरुलाई ढिलोगरी खबर गरेको दावी भट्टको छ। स्वास्थ्य सेवा विभागको सहजीकरणमा सेती प्रादेशिक अस्पतालसँग सम्झौता गरी डायलासिस वार्ड सञ्चालन गर्दै आएको बिरंग हेल्थ केयर प्रालीले कोरोनाको कारण देखाउँदै बिरामीको गाम्भीर्यता नहेर्दा समस्या हुदै आएको छ।
उक्त संस्थालाई नियमन गर्ने अधिकार अस्पतालसँग भएपनि वेवास्ता गरिदा मृगौला पीडितहरु झनै समस्यामा परेका छन्। प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले मृगौला पीडितको कोरोना परीक्षण अनिवार्य नगरिएको बताए।
उनले गम्भीर बिरामीको पीसीआर गरेपनि नगरेपनि डायलासिस गर्नुपर्ने बताए। अस्पतालले समेत बिरंग हेल्थ केयर प्रालीलाई पत्राचार गर्दै पीसीआर पोजेटिभ देखिएका बिरामीको पनि छुट्टै डायलासिस गराउने व्यवस्था गर्न भनिएको मेसु डाक्टर पाण्डे बताउँछन्।
कोरोना भाईरसको महामारीमा पीसीआर रिर्पोटको पर्खाइमै मृगौला पीडितले ज्यान गुमाउनुपर्ने मात्र नभई सवारीसाधन अभाव र आर्थिक समस्या पनि अर्को कारण बनेको छ। सेती प्रादेशिक अस्पतालमै नियमित डायलासिस गराउँदै आएकी कैलालीको गोदावरी नगरपालिका १ की लिलादेवी जोशीको पनि उपचार नपाउँदा गत जेठमा मृत्यु भएको छ।
दुवै मृगौला फेल भईसकेपछि जोशीलाई थप उपचारका लागि काठमाडौँ लैजान नसक्दा मृत्यु भएको हो। मृतकका श्रीमान प्रेमराज जोशीले कोरोना महामारीपछि जारी लकडाउनले सवारी साधन नचल्दा र आर्थिक जोहो गर्न नसक्दा थप उपचारका लागि काठमाडौँ लैजान नसकेपछि श्रीमतीको मृत्यु भएको बताए।
सुदूरपश्चिममै धनगढीमा मात्र मृगौला पीडितका लागि सेती प्रादेशिक अस्पतालमा मात्र नियमित डायलासिस सेवा उपलब्ध भएपनि व्यवस्थित नहुँदा कोरोनाको महामारीमा मृत्युवरण गर्नुपर्ने बाध्यता बनेको छ।