सम्झौता अगावै निर्माण सकेपछि कैलालीका व्यवसायी प्रकाश सेठी १३औँ पटक सम्मानित
धनगढी: कैलालीका निर्माण व्यवसायी प्रकाश सेठी १३औँ पटक सम्मानित भएका छन्। संघीय सरकारको शहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन ईकाइ धनगढीको सघन शहरी विकास कार्यक्रम अन्तरगत टीकापुर बसपार्कको निर्माण सम्झौता अघि नै सकिएपछि सेठी सम्मानीत भएका हुन्।
राजेन्द्र रोयल जेभीका सञ्चालक सेठीले ठेक्का सम्झौता सकिन ७० दिन अघि नै बसपार्क निर्माणको काम सम्पन्न गरेपछि शहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन इकाईले प्रशंसा पत्र र बोनस सहित सम्मान गरेको हो।
२०७५ साल माघ २ गते शहरी विकास आयोजना कार्यान्वयन इकाई र रोयल जेभीबीच २०७७ साउन २ गते भित्र निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको थियो। तर निर्माण व्यवसायी सेठीले सम्झौता अवधी अगावै निर्माण सकेर बसपार्क हस्तान्तरण गरेका हुन्।
उनले निर्माण व्यवसायीको ढिलासुस्तीका कारण विकास निर्माणका आयोजनाको काम समयमै सम्पन्न नहुने प्रवृत्तिलाई चिर्न आफूले सबैजसो योजनामा तिव्र रुपमा काम गर्दै आएको बताए। निर्माण व्यवसायी सेठी यसअघि निर्धारित समय अगावै काम सम्पन्न भएपछि १२ पटक सम्मानीत र पुरस्कृत भईसकेका छन्।
सेठीका अनुसार यसअघि शहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन ईकाईबाट नै कार्यान्वयन भएको कञ्चनपुरको त्रिभुवन बस्ती स्वास्थ्य चौकी भवन, कालिका स्वास्थ्य चौकी भवनको काम पनि सम्झौता अगाडी नै सम्पन्न गरेपछि सम्मानीत भएका थिए।
यस्तै पुर्नवास नगरपालिका भवन, सुर्खेतको मेलकुना सिटी हल, उच्च सरकारी वकिलको कार्यालय भवन सुर्खेत, उच्च सरकारी वकिलकै कार्यालय भवन नेपालगञ्ज, सुर्खेतकै गुमी स्वास्थ्य चौकी भवन, सानीलेक स्वास्थ्य चौकी भवन, घाटगाउँ स्वास्थ्यचौकी भवन, दहचौर स्वास्थ्य चौकी भवन सुर्खेत र सुर्खेतकै रानीबास स्वास्थ्य चौकी भवनको काम पनि सम्झौता अवधी अगाडी नै सम्पन्न गरी हस्तान्तरण गरिएको उनले बताए।