‘न बस चलाए न उद्धारमा खटिए, कसरी कोरोना लाग्यो, कसरी मृत्यु भयो’
धनगढी : हामी सात भाईमध्ये उनी (कोरोना संक्रमणबाट मृत्यु भएका पुरुष) जेठो हुन्। पहिलेको बसोबास कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर ५ गुलरीया हो। अहिले हाम्रो परिवार गोदावरी नगरपालिका वडा नम्वर १ र २ मा बस्दै आएको छ। हामीसंग पाँच वटा बस छन्। महेन्द्रनगरबाट दुई वटा बस काठमाडौँ, दुई वटा भारतको देहरादुन र एउटा नेपालगञ्ज सञ्चालन हुँदै आएको थियो।
लकडाउनपछि सार्वजनिक यातायात बन्द भयो। बैशाखमा हामीले पनि बस थन्काउन पर्ने भयो। पवनद्धुत यातायातले काठमाडौँमा अलपत्र परेका विद्यार्थीहरुलाई ल्याउने भनेपछि हाम्रो पनि एउटा बस लगियो। तर बसमा न दाई गए न त हाम्रा चालक, सहचालक नै गए।
काठमाडौँबाट विद्यार्थीको उद्धारपछि फेरी हाम्रो बस पार्किङमै थन्कियो। जेठ २२ गते गड्डाचौकी नाकाबाट भारतबाट फर्किएका नेपालीलाई काठमाडौँ पुगाउने योजना बन्यो। दाईले अत्तरियाबाट कञ्चनपुरको दैजीसम्म बस आफैँ चलाए। दैजीबाट हाम्रा स्टाफले बस लगे। भारतबाट फर्किएका नागरिकलाई पनि काठमाडौँ पुगाउन स्टाफ नै गए। दाई गएनन्। त्यति मात्रै होईन लकडाउनको अवधिमा न एक पटक दाई गड्डाचौकी पुगे न त त्रिनगर नाका नै।
न भारतबाट फर्किएका नागरिकको उद्धारमा खटिए। भारतबाट आएका नागरिकलाई बसमा राखेर कहिल्यै पनि बस चलाएनन्। जेठ २८ गते दाईलाई स्वास्थ्यमा समस्या आयो। सुरुमा छोरा र छोरीले दाईलाई माया मेट्रो अस्पताल धनगढी लगे। त्यहाँ निमोनियाको आशंका गरीयो। तर स्वास्थ्य अवस्था ठिकै देखिएपछि घर फर्कियौ। ३० गते फेरी स्वास्थ्यमा समस्या देखिएपछि धनगढीकै गरिमा मेडिकलमा लग्यौ। अवस्था बिग्रिएको जानकारी पाएपछि नवजिवन अस्पतालको आईसियूमा भर्ना ग¥यौ।
नवजिवन अस्पतालमा उपचार भईरहेको थियो, दाईको स्वाब संकलन गरेर कोरोना परीक्षण गरीएको रहेछ। ३१ गते राति नै कोरोना संक्रमण पुष्टि भएको जानकारी आयो। दाईलाइ सेतीमा रेफर गरियो। बैशाख १ गते दिनेश खवरमै समाचार पढेको सम्झना छ। दिनेश खवरको समाचारमा स्वास्थ्य अवस्था सुधार भईरहेको डाक्टरले भनेका थिए।
तर २ गते राति फेरी स्वास्थ्य अवस्था बिग्रिएको खवर आयो। मैले नै सामाजिक विकास मन्त्री ज्यूलाई फोन गरेर हवाई उद्धारका लागि पहल गरीदिन आग्रह गरे। त्यसपछि सेती अस्पताल र मन्त्रालयबाट पहल पनि भईरहेको जानकारी पाएको थिए। आज विहानै ९ बजे उद्धार गरेर काठमाडौँ लैजाने तयारी थियो। सायद भाग्यमा यहि लेखेको थियो। हिजो साँझ नै मृत्यु भयो।
त्यसैमा कसैले गड्डाचौकीमा उद्धारमा खटिएका थिए। कसैले आफैँ बस चलाएका थिए भनिरहेका छन्। तर दाईले न बस चलाए न उद्धारमा खटिए। कसरी कोरोना लाग्यो। कसरी मृत्यु भयो। हामी परिवारका सदस्यले कुनै भेउ पाईरहेका छैनौ। अत्तरियामै रहँदा कोही संक्रमितको सम्पर्कमा त गएका थिएनन् भन्ने आशंका मनमा छ।
(कोरोना भाईरसका कारण मृत्यु भएका कैलालीको गोदावरी नगरपालिका वडा नम्वर १ का ४६ बर्षीय संक्रमितका भाईसंग गरिएको कुराकानीमा आधारित )