कैलालीको गौरीगंगामा मौरी र मौरीजन्य सामग्री वितरण
कैलाली(मसुरिया): कैलालीको गौरीगंगा नगरपालिकाले मौरी तथा मौरीजन्य सामग्री वितरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। बुधबार मौरीपालन ब्लक संचालक समितिलाई प्रधानमन्त्री आधुनिकिकरण परियोजना मौरी ब्लक अन्तर्गत कृषि ज्ञान केन्द्र कञ्चनपुरबाट ५० प्रतिशत अनुदानमा मौरी तथा मौरीजन्य सामग्री वितरण गरिएको हो।
परियोजनामा ब्लक संचालक समितिले २३ लाख ४० हजार र कृषि ज्ञान केन्द्रको २५ लाख अनुदान गरि ४८ लाख ४० हजारको कार्यक्रम रहेको छ। योजनाको सम्झौता अनुसार तीन सय मौरी गोला , सय खाली घार, आधार चाका, मह महदानी, घार औजार, स्क्राचर, टोपी, धुवा दानी, स्टेण्ड, फिडर, मैन बक्स, झुल लगायतका सामग्री किसानलाई वितरण गरिएको छ।
समितिका संयोजक लिलाधर न्युरेको सभापतित्वमा भएको कार्यक्रममा पूर्व सामाजिक विकास मन्त्री एवं प्रदेश सभा सदस्य दिर्घबहादुर सोडारी रहेका थिए। सामग्री हस्तान्तरण गर्दै सोडारीले मौरी पालनले नगरपालिका र वडाको पहिचान दिने भन्दै विदेशबाट आयात भइरहेको आयात ठुलो परिमाणको मह विस्थापित गर्न सफल हुने विश्वास व्यक्त गरेका छन्।
यस्तै गौरीगंगाका नगरप्रमुख भिमबहादुर देउवाले वडा नम्बर ९ लाई मौरी पालनको पकेट क्षेत्र बनाई यहाँको उत्पादित महको बजारीकरण गर्न मह उपहार कार्यक्रम संचालन गर्ने बताए।
त्यस्तै प्रधानमन्त्री आधुनिकिकरण परियोजना कृषि ज्ञान केन्द्र कञ्चनपुरका कार्यक्रम संयोजक जनकबहादुर सिंहले मौरीमा सुदूरपश्चिममा पहिलो ब्लक कार्यक्रम गरिएको जानकारी दिए। उनले गहु सुपरजोनको जस्तो कृषि औजार उपकरण लिएर थन्क्याउने कार्यक्रम नभई प्रत्यक्ष किसानले आफ्नो सहभागितामा व्यवसायिक उत्पादन गर्ने गरेको अनुगमन सहितको मौरी ब्लकको कार्य रहेको बताए।