धनगढीमा एक वर्षीय बालकमा कोरोना पुष्टि: २४ घण्टासम्म परिवार सम्पर्कमा आएन
धनगढी : धनगढीमा एक बर्षीय बालकमा कोरोना पुष्टि भएको २४ घण्टा पुगेपनि बालक र उनको परिवार अझै सम्पर्कमा आएको छैन्। मंगलवार दिउसो धनगढी उप–महानगरपालिका वडा नम्वर १ का एक बर्षीय बालकमा कोरोना पुष्टि भएको थियो।
धनगढी उप–महानगरपालिकाका स्वास्थ्य शाखाका अहेव लक्ष्मीराज उपाध्यायले कोरोना पुष्टि भएपनि संक्रमित वा संक्रमितको परिवारलाई सम्पर्कमा ल्याउन नसकिएको बताए।
‘सेती प्रादेशिक अस्पतालबाटै स्वाब संकलन गरीएको छ,’ उनले भने, ‘वडा नम्वर १ का एक बर्षीयमा कोरोना पुष्टि भएपनि उनको परिवार अहिलेसम्म सम्पर्कमा आएको छैन्। सम्पर्कमा ल्याउने प्रयास भईरहेको छ।’
यसअघि धनगढीमै दुई वर्षीया बालिकामा पनि कोरोना पुष्टि भएको थियो। गत मंगलवार धनगढी उप–महानगरपालिका वडा नम्वर १ की एक महिला र उनकी दुई वर्षीया छोरीमा कोरोना पुष्टि भएको थियो। धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार उनीहरुको अहिले उपचार भईरहेको छ।