सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका स्थानीय सरकारलाई पीसीआर मेसिन खरिदको निर्णय कार्यान्वयन गर्न अन्यौल

२०७७ जेठ ३२, १२:३२ कमल सावद

धनगढी : सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षण सुस्त भएको भन्दै प्रयोगशालाका उपकरण खरिद गर्ने निर्णय गरेका स्थानीय सरकार अन्यौलमा परेका छन्। प्रदेशका तीन जिल्लामा कोरोना परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने निर्णय गरेका स्थानीय तहहरु अहिले भने अन्यौलमा  परेका हुन्।

पीसीआर मेसिन खरिदको निर्णय गरेपनि स्थानीय सरकारहरुले बजेटको जोहो गर्न सकेका छैनन्। प्रयोगशालाका लागि आवश्यक भौतिक संरचना समेत नभएपछि स्थापना र सञ्चालनमा समेत चुनौती हुने देखिएको छ। बझाङका सबै स्थानीय तहहरुले गत जेठ २६ गते कोरोना परीक्षणका लागि आवश्यक पीसिआर मेसिन खरिद गर्ने निर्णय गरे।

सुदूरपश्चिम प्रदेशमा एक मात्र कोरोना परीक्षणका लागि प्रयोगशाला रहेकाले ढिलाई भएको भन्दै नगरपालिकाहरुले १५ र गाउँपालिकाहरुले १० लाख रकम उठाउने निर्णय भएको थियो। तर निर्णय कार्यान्वयनको लागि अझै प्रक्रिया थालिएको छैन्। बझाङको जयपृथ्वी नगरपालिकाका मेयर वीरेन्द्रबहादुर खड्काले खरिदका लागि छलफलको क्रममा रहेको बताए।

‘हामी छलफलको क्रममा छौ। १५ लाख नगरपालिका र १० लाख गाउँपालिकाले दिने भन्ने भएको छ। तर प्रयोगशालाका उपकरणहरु कहाँबाट खरिद गर्न सकिन्छ? कति मुल्य पर्छ ? यो विषयमा छलफलमा छाँ।’ उनले भने।

यता कञ्चनपुरको भीमदत्त नगरपालिकाले पनि मेसिन खरिद गर्ने दावी गरेको थियो। तर प्रयोगशाला स्थापनाका लागि आवश्यक पर्ने रकमको समेत जोहो भएको छैन्। कोरोना परीक्षण प्रयोगशालाका सामाग्रीको उपलब्धताका बारेमा पनि नगरपालिका अन्यौलमा देखिएको छ।

जिल्लाको भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रसाद भट्टले कुनै निर्णय नभएको बताए। ‘मेसिन खरिद गर्ने आटेका छौँ। आटेपछि काम हुन्छ। दाताहरुबाट पनि रकम संकलन गछौँ। पैसा भएका कारणले हामीले मेसिन किन्न लागेको भने हैन्।’ उनले भने।

डडेल्धुराको अमरगढी नगरपालिका र भागेश्वर गाउँपालिकाले पनि पीसीआर मेसिन खरिदका लागि निर्णय गरेका छन् भने अछामका पूर्वी स्थानीय तहले पनि निर्णय गरेका छन्। तर अहिलेसम्म खरिद प्रक्रिया भने थालिएको छैन्।

यता पीसीआर मेसिन खरिद भएपनि सञ्चालनमा र स्थापना गर्न भने चुनौती छ। प्रयोगशाला स्थापनाका लागि एउटै छुट्टै घर आवश्यक हुने गरेको छ भने कम्तीमा पाँच जनाको दक्ष जनशक्ति पनि आवश्यक हुन्छ।

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस