सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको सीमा क्षेत्रमा एक सातामै थपिए ५ बिओपी

२०७७ जेठ ३१, ०९:४९ खबर संवाददाता

धनगढी : कैलाली जिल्लामा थप ५ स्थानमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरीएको छ। एक सय एक किलोमिटर खुल्ला सीमाना रहेको कैलाली जिल्लामा पाँच वटा बिओपी थप भएसंगै बिओपीको संख्या ९ पुगेको छ।

सीमा सुरक्षालाई मध्यनजर गर्दै नेपाल सरकारको मन्त्रीपरिषद्को निर्णय अनुसार पाँच वटा बिओपी थप गरीएको सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ। बंगराकटान, जुगेडा, खोनपुर, हिक्मतपुर, श्रीलंका टापुमा बिओपी स्थापना गरीएको हो। भुईयाँफाटामा लकडाउनको अवधीमै बिओपी स्थापना भईसकेको थियो। 

बिओपी स्थापनामा सहभागी भएका सशस्त्र प्रहरी बल नेपाल नम्वर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले अहिलेको परिस्थितिमा जिम्मेवारी थपिएको बताउँदै ब्यक्तिगत सुरक्षालाई ध्यानमा राखी अझ बढी कर्तब्यनिष्ठ भई राष्ट्रसेवामा लाग्न आग्रह गरेका थिए। 

सीमा सुरक्षा, अपराध नियन्त्रण र अबैध चोरी निकासी पैठारी नियन्त्रण बिओपीको प्रमुख काम भएकोले ब्यवसायिक ढंगले कार्य क्षेत्रमा खटिन उनले निर्देशन दिए।

सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३४ गण हेडक्वाटर कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक कमल प्रसाद तिमिल्सीनाले बिओपी स्थापनापछि सीमा सुरक्षा एवं सीमा ईलाकामा बसोवास गर्ने नागरिकहरुमा सुरक्षाको समेत प्रत्याभुति हुने बिश्वास ब्यक्त गरे। 
 

कमेन्ट लोड गर्नुस