असारमै ३७ प्रतिशत खर्च भएपनि कैलालीको १ अर्ब विकास बजेट फ्रिज
देश संघीयतामा गएपछि गाँउ गाँउमा आएको सिंहदरबारले स्थानीय स्तरमा कार्यान्वयन हुने विकास निर्माणका योजनामा विशेष नजर राखी विकासे काम समयमै सम्पन्न हुने र पुँजीगत खर्च फ्रिज हुनबाट जोगिने धेरैको अपेक्षा थियो । तर जनप्रतिनिधी आएपछि पनि विगतमा जस्तै चल्ने असारे विकास यसबर्ष पनि निरन्तर चल्यो । जसका कारण कुल खर्चको ३७ प्रतिशत बजेट असारमै भयो तरपनि १५ प्रतिशत विकास बजेट भने फ्रिज गएको छ ।
कुल वार्षीक खर्चको ३७ प्रतिशत बजेट असारमै खर्च भएपनि कैलालीमा झन्डै १ अर्ब विकास बजेट फ्रिज गएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका अनुसार आर्थिक वर्ष २०७४/७५ को अन्तीम दिन सोमबार सम्म कुल बजेटको ८५ प्रतिशत रकम मात्र खर्च भएको छ भने झन्डै १ अर्ब अथात् १५ प्रतिशत विकास बजेट फ्रिज गएको जनाएको छ ।
कोष नियन्त्रक मदनराज पाण्डेले आर्थिक वर्ष २०७४/७५ मा कैलालीको कुल पुँजीगत बजेट ६ अर्ब १४ करोड ८३ लाख ९२ हजार मध्ये ५ अर्ब २३ करोड १५ लाख खर्च भएको बताए । उनका अनुसार ९१ करोड ६८ लाख ९२ हजार बजेट फ्रिज भएको २३ करोड १५ लाख खर्च भएको बताए । उनका अनुसार ९१ करोड ६८ लाख ९२ हजार बजेट फ्रिज गएको हो ।
सोमबार भित्र बैँकबाट रकम फिर्ता भए वास्तविक खर्च निस्कने कोष नियन्त्रक पाण्डेले बताए । यो वर्ष असारे विकास गत विगतका बर्ष भन्दा झनै मौलाएका कारण अघिल्ला वर्षको तुलनामा पुँजीगत खर्चमा केही सुधार भएपनि आशा गरे अनुसारको प्रगती भने हुन सकेको छैन् ।
कैलालीमा आर्थिक वर्ष २०७३/७४ मा ८२ प्रतिशत पुँजीगत बजेट खर्च भएको थियो भने त्यस भन्दा अघिल्लो वर्ष २०७२/७३ मा ८३ प्रतिशत बजेट खर्च भएको थियो । सबैभन्दा बढि मोहनापुल अत्तरिया सडक योजना कार्यालयको बजेट फ्रिज गएको देखिएको छ । उक्त कार्यालयको वार्षिक बजेट ५१ करोड ८१ लाख बजेट रहेकोमा २९ करोड १६ लाख बजेट खर्च हुदा २२ करोड ५९ लाख फ्रिज गएको छ ।
यस्तै क्षेत्रिय शहरी विकास आयोजनाको २१ करोड ८० लाख मध्ये १२ लाख ५ हजार बजेट मात्र खर्च भएको छ । ३१ करोड ४१ लाख ८५ हजार बजेट रहेको जिल्ला प्राविधिक कार्यालयले २४ करोड १३ लाख, हुलाकी सडक योजनाको ३५ करोड ७१ लाख मध्ये ३३ करोड २५ लाख बजेट खर्च भएको छ ।
यस्तै राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिचाई आयोजनाले १ अर्ब ५८ करोड १३ लाख मध्ये १ अर्ब ५० करोड ६२ लाख खर्च गरेको छ । वर्षभरी काम नगर्ने असार अन्तमा आएर मात्र तात्ने कैलालीका विकासे कार्यालयको विगतको परिपाटीले खर्च प्रतिशत त बढाएको छ तर त्यस्को सदुपयोग भने हुन सकेको छैन् ।
असारमै योजना सम्झौता गर्ने र असारमै सम्पन्न गर्ने परिपाटीले दिगो विकासको सपना पुरा हुन सकेको छैन् । कैलाली बहुमुखी क्याम्पसका उपप्राध्यापक तथा अर्थका जानकार एव्म गगन घिमिरेले कमिशन पाएपछि मात्र विकास निर्माणका योजना कार्यान्वयन गर्ने कर्मचारी र जनप्रतिनिधिको विगतदेखीको प्रवृत्ति सुधार नभएकाले आशा गरे अनुसारको प्रगती नदेखिएको बताए ।
कैलालीमा असारमा मात्र कुल वार्षिक खर्चको ३७ प्रतिशत अथात् १ अर्ब ७१ करोड विकास बजेट खर्च भएको छ । यस्ले पनि असारे विकासको बेथितीलाई प्रष्ट पारीदिएको छ ।