रोपाइँको मुखमा मलको अभाव
चितवन : असार महिना शुरु हुन लाग्दा कृषकले आवश्यक मात्रामा मल पाउन सकेका छैनन्। जिल्लामा अहिले युरिया मलको अभाव देखिएको छ।
घण्टौँसम्म लाइन बस्दासमेत डिएपी र पोटास पाए पनि कृषकले अहिले युरिया मल पाउन सकेका छैनन्। धान रोपिसकेपछि बालीमा हाल्नका लागि अवश्यक पर्ने युरिया मल जिल्लाका कुनै पनि स्थानमा पु¥याउन नसकिएको कृषि सामग्री कम्पनी लि शाखा कार्यालय भरतपुरका प्रमुख रवीन्द्र गौतमले जानकारी दिए।
उनका अनुसार धान खेतीका लागि मात्र जिल्लामा १५ हजार मेट्रिक टन माग भएको छ। तर अहिले साल्टटे«डिङ र आफूसँग युरिया मल नभएको उनले बताए। लामो समयसम्म विश्वव्यापी लकडाउनका कारण आपूर्ति असहज हुँदा पर्याप्त मात्रामा मल उपलब्ध गराउन नसकिएको उनको भनाइ छ।
कम्पनीले गत वर्ष १० हजार मेट्रिक टन युरिया, पाँच हजार मेट्रिक टन डिएपी र एक हजार ५०० मेट्रिक टन पोटास बिक्री गरेको थियो। साल्ट ट्रेडिङले तीन हजार मेट्रिकटन युरिया मल बिक्री गरेको थियो। अहिले दुवै संस्थामा मलको अभाव रहेको गौतमले बताए। उनले भने, “अहिलेसम्म मौज्दातबाट चलेको थियो। अब कतै छैन्। लकडाउनले आउनुपर्ने मल रोकिएको छ।”
लकडाउन खुलेसँगै आपूर्ति सहज हुने उनको भनाइ छ। जिल्लामा वर्षेधान २७ हजार सात सय ३५ हेक्टर र चैतेधान छ हजार हेक्टर क्षेत्रफलमा लगाउँदै आएको छ। वर्षेधान लगाउने समयमा मल नपाएपछि कृषक चिन्तित बनेका छन्।
कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालले मलको अभाव भएपछि प्रदेश सरकारसँग आपूर्ति सहजताका लागि आग्रह गरिएको जानकारी दिए। मल ल्याएर बिक्री गर्ने संस्थाले सहजरूपमा आपूर्ति गर्न नसक्दा समस्या भएको उनको भनाइ छ।
मलको व्यवस्थापनका लागि छलफल भइरहेको उनले जानकारी दिए।