सुदूरपश्चिममा पीसीआर मसिन खरिदका लागी दवाव स्वरुप एक–एक रूपैयाँ सङ्कलन
सुदूरपश्चिम प्रदेशमा थप पीसीआर मेसिन किन्न सरकारलाई दबाब दिन चन्दा सङ्कलन अभियान सुरु गरिएको छ। प्रदेशभरिमा कैलालीमा एकमात्र पीसीआर मेसिन भएको र यस मेसिनले जाँच गर्न ढिलाइ भएको कारण समस्या भएको भन्दै जिल्लामा रहेका नेपाल विद्यार्थी सङ्गठनले थप मेसिन किन्न दबाब स्वरुप चन्दा सङ्कलन अभियान सुरु गरेका हुन्।
दिपायलको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारबाट यस अभियानको सुरुवात गरिएको छ। पीसीआर मेसिन खरिदको लागि दबाब दिने उद्देश्यले यस अभियानको सुरुवात गरेको नेविसङ्घका अध्यक्ष गणेश खड्काले बताए। उनले भने, ‘सरकारले पीसीआर मेसिनको दायरा बढाउन नसकेकोले कोरोना परीक्षणमा ढिलाइ हुँदा दबाब दिनको लागि हामीले एक रुपैयाँ चन्दा सङ्कलन गर्ने अभियान चलाएका छौँ, सङ्कलित रकम सरकारको खातामा जम्मा गर्नेछौँ।’
नेविसंङ्घले आयोजना गरेको यस अभियानलाई सम्बोधन गर्दै नेपाली कांग्रेस डोटी क्षेत्र नं १ का पार्टी सभापति विजय खड्काले कोरोना परीक्षणमा पीसीआर पद्धति एकमात्रै विश्वसनीय रहेको अवस्थामा सरकार त्यसको दायरा बढाउनतर्फ उदासिन रहेको आरोप लगाए। उनले भने, ‘कोरोना परीक्षण गर्ने पीसीआर पद्धति नै विश्वसनीय छ, त्यही किन्न पनि किन ढिलाइ गर्ने।’
कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै नेविसङ्घका पूर्व केन्द्रीय सदस्य विजयराज ओझाले सरकारले जुनसुकै अवस्थामा भए पनि पीसीआर मेसिन किनेर त्यसको दायरा बढाउनु पर्ने बताए। यस अभियानमा यहाँका स्थानीयले पनि साथ दिएका छन्। रासस