कैलालीमा कोरोना संक्रमितको सङख्या ६७ पुग्यो
धनगढी : आज कैलालीका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ६७ पुगेको छ। सुदूरपश्चिममै सबैभन्दा बढि संक्रमित कैलालीमै रहेका छन्। आज गौरीगंगा नगरपालिकाका वडा नम्बर ५ का २०, २३, २३, २४, २४, २९ वर्षीय पुरुष र घोडाघोडी नगरपालिकाका ३० वर्षीय पुरुषमा गरी ७ जनामा कोरोना पुष्टि भएको हो।
कैलालीमा सबैभन्दा बढि गौरीगंगा नगरपालिकामा २७ जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै टीकापुर नगरपालिकामा १३ जना, धनगढी उप–महानगरपालिकामा ११ जना, जानकी गाउँपालिकामा ९ जना, लम्कीचुहा नगरपालिका २ जना, भजनी नगरपालिका, गोदावरी नगरपालिका, घोडाघोडी नगरपालिकामा दुई जना, मोहन्याल र बर्दगोरिया गाउँपालिकामा एक÷एक जना कोरोना संक्रमित भेटिएका छन्।
संक्रमित मध्ये हाल सम्म नौँ जना निको भएर अस्पतालबाट घर फर्किसकेका छन्। एक जनाको मृत्यु भएको छ भने एक जना थप उपचारका लागि काठमाडौँ रेफर भएका छन्।
प्रदेशकै पहिलो पटक चैत १४ गते कोरोना संक्रमण देखिएका धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुष, त्यसपछि चैत २२ गते धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला, लम्कीका २१ वर्षीय युवक र बैशाख १ गते संक्रमण पुष्टि भएकी लम्कीचुहा नगरपालिका वडा नम्वर १ की ६१ वर्षीय महिला कोरोनाई जितेर घर फर्किसकेका छन्।
जानकी गाउँपालिकाका ५ जना पनि कोरोनालाई जितेर डिस्चार्ज भएका छन्। अन्यको सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली अस्पतालको आईसोलेसन वार्ड र सम्बन्धीत क्वारेन्टाइनमै राखेर उपचार भइरहेको छ।
कैलालीपछि कञ्चनपुरमा ३४, बाजुराका २१, अछामका १६, डडेल्धुरामा १५, दार्चुलामा १२, डोटीका १०, बझाङमा ७ र बैतडीमा ६ जनामा कोरोना पुष्टि भएको छ।