गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि
गण्डकी प्रदेशमा थप २४ जनालाई कोरोनाभाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक सय ४४ पुगेको छ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १२, बाग्लुङमा ११ र म्याग्दी जिल्लामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय रामघाट पोखराले जनाएको छ।
स्वास्थ्य निर्देशनालय रामघाट पोखराका अनुसार पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकामा १२ संक्रमितहरु फेला परेका छन् भने, उनीहरु ४० देखि १८ वर्ष उमेर समूहका छन्। संक्रमितहरु सबै पुरुष हुन्।
यस्तै बाग्लुङ बरेङ गाउँपालिकामा ८ जना र निसीखोला गाउँपालिकामा ४ जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ। म्यादीको बेनी नगरपालिकाका ४६ वर्षीय पुरुषमा पनि कोरोना देखिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।
बागलुङका २ र लमजुङका एकजना गरी ३ जनाले कोरोना जितेर घर फर्किसकेका छन्। गण्डकी प्रदेशमा कोरोनाबाट एकजनाको मृत्यु भएको छ। गण्डकीको मनाङ, मुस्ताङबाहेक सबै जिल्लामा कोरोना पुगिसकेको निर्देशनालयले जनाएको छ।