कैलालीमा मोटरसाईकलको ठक्करबाट महिलाको मृत्यु
अत्तरिया : कैलालीमा मोटरसाईकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ को महेद्रनगर रोडमा अत्तरियातर्फ आउदै गरेको मोटरसाईकलको ठक्करबाट महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक हिक्मत थापाले मोटरसाईकलको ठक्करबाट गोदावरी नगरपालिका १० खमौराकी ६० वर्षीया हिरा मालीको मृत्यु भएको बताए।
उनलाई कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ११ का २६ वर्षीय गोविन्द जोशीले चलाएको सु.प.प्र.००२–००३ प.२३२३ नम्बरको मोटरसाईकलले ठक्कर दिएको थियो।
मालीको धनगढीमा उपचार सम्भव नभएपछि नेपालगञ्ज पठाईएकोमा उतै मृत्यु भएको प्रहरी निरिक्षक थापाले बताए। चालक र मोटरसाईकललाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ।