धनगढीमा अन्त्येष्टिपछि कोरोना पुष्टि : टोल सिल, सबै मलामीको परीक्षण हुने
धनगढी : धनगढीमा महिलाको अन्त्येष्टिपछि कोरोना पुष्टि भएपछि एउटा टोल सिल गरिएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर ४ को महिमा टोल सिल गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक हिक्मत थापाले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयको समन्वयमा शनिबार साँझदेखि टोल सिल गरिएको जानकारी दिए।
वडाध्यक्ष दीपक थापाले टोल सिल गर्दै आवतजावतमा पूर्ण रुपमा रोक लगाईएको बताए। उनले महिलाको मलामी गएका सबैको नमूना संकलन गरी परीक्षण गर्ने तयारी भईरहेको जानकारी दिए। सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी महिमा टोलकी ५५ वर्षीया महिलाको अन्त्येष्टिपछि कोरोना पुष्टि भएको थियो।
उनको मलामी गएका महिलामा टोल सहित घोडाघोडी नगरपालिका वडा नम्बर ३ का ८ जना र बर्दोगोरिया गाउँपालिका वडा नम्बर २ का दुई जना गरी ४९ जना सम्पर्कमा आएका छन्। उनीहरु सबैको पीसीआर परीक्षण गर्ने तयारी छ। मृतकलाई सेती प्रादेशिक अस्पताल सम्म लैजाने तथा उनको शव ल्याउने अटो चालक, आर्यघाट सम्म शव लैजाने ट्रयाक्टर चालक पनि सम्पर्कमा आएका छन्।
शुक्रवार दिउसो १२ बजे उनको सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमा मृत्यु भएकी ती महिलाको शनिबार बिहान अन्त्येष्टि गरिएको थियो। मोहना घाटमा उनको अन्त्येष्टि गरिएको तर कोरोना पुष्टिपछि मात्रै जानकारी पाईएको थियो। लामोसमयदेखि मृगौला सम्बन्धी रोगबाट पीडित उनी पहिलो पटक डायलासिस गराउनका लागि सेती अस्पताल पुगेका थिईन्।
डायलासिस अघि उनको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको थियो। मृत्युपछि थ्रोट स्वाबको नमूना संकलन गरी धनगढी प्रयोगशालामा पठाइएकोमा कोरोना पुष्टि भएको हो। मृतकमा कोरोना पुष्टि भएपछि डायलासिस वार्ड सिल गरीएको छ। मृतक महिला यसअघि काठमाडौँबाट उपचार गराएर फर्किएकी थिईन्।