डोटीको दिपायल विमानस्थलको स्तरोन्नति थप गरिएकोमा समयमा पनि नसकिने संकेत (अडियो रिर्पोट सहित)
बजेट विनियोजन नभएपछि धावनमार्गको लामो बनाउने योजना पनि अलपत्र
डोटीको दिपायल विमानस्थलको पुर्ननिर्माण कार्य तोकिएको समयमा सम्पन्न हुन सकेको छैन । संगै काम सुरु गरिएको अछामको साफेबगर विमानस्थलको निर्माण कार्य सम्पन्न भएर परिक्षण उडान भईसक्दा समेत दिपायल विमानस्थलको निर्माण कार्य भने अझै अधुरो छ । २०५८ सालबाट वन्द भएको विमानस्थल पुनः सचालनका लागि काम सुरु भएको थियो तर दोश्रो पटक थप भएको समयमा पनि स्तरोन्नतिको कार्य भने नसकिने देखिएको छ । १५ महिनामा निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि असारसम्मका लागि ६ महिना थप हँुदा समेत दिपायल विमानस्थलको स्तरोन्नतिको कार्य पुरा हुन नसकेको हो । २०७३ साल कार्तिकमा काम सुरु गर्नुपर्ने भएपनि ढिलागरी फागुनबाट मात्रै काम सुरु गरिएको थियो । अहिलेसम्म विमानस्थल स्तरोन्नतिको ६० प्रतिशत काम भएको दावी गरिएको छ तर अहिले सम्म कालोपत्रे भने सुरु भएको छैन् । विमानस्थल निर्माण कार्यका ईन्जिनियर बालकृष्ण रेग्मीले निर्माण व्यवसायीले विभिन्न वहाना देखाउँदै काममा लापरबाही गरिरहेको बताए । करिब चार सय ९० मिटर लम्बाई भएको सो विमानस्थलको कालोपत्र गर्नका लागि झण्डै साढे ५ करोड बजेट विनियोजन गरिएको थियो ।
डेढ दशकदेखि ओझेलमा परेको विमानस्थल कालोपत्रे गर्ने योजना आएपछि डोटेली जनता खुसी भएका थिए तर निर्धारित समय सकिएर ६ महिनाको समय थप्दा पनि स्तरोन्नतिको कार्य सकिने छाँटकाँट नदेखिएको विमानस्थल रहेको दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र खड्काले बताए । लामो समयदेखि गौचरणमा परिणत दिपायल विमानस्थल सञ्चालनमा आए प्रदेश नम्बर ७ का पहाडी जिल्लाको आर्थिक सम्वृद्धिसंगै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । संगै काम सुरु गरिएको अछामको साफेबगर विमानस्थलमा परिक्षण उडान हुँदा समेत विमानस्थलको स्तरोन्नतिमा देखिएको लापरवाहीले डोटेली जनतालाई निराश बनाएको डोटी उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले बताए । दिपायल विमानस्थलमा चार ९० मिटर लम्बाइको धावनमार्ग रहेकोमा एक हजार मिटर लम्वाईको धावन मार्ग बनाउने माग हुदै आएको छ । जग्गा अधिग्रहणको लागि सहमति भएपनि आगामी अर्थिक बर्षको लागि प्रदेश र संघीय सरकारले बजेट विनियोजन नगर्दा उक्त योजना अलपत्र पर्ने देखिएको छ । आफ्नै पहलमा विमानस्थलको काम सुरु भएको दावी गर्दै आएका प्रतिनिधि सभा सदस्य प्रेम आलेमगर पनि यस्मा मौन छन् ।
अडियो सुन्नुहोस्