सुदूर नेपाललाई विश्वसँग जोड्दै

मनिराज वाङमय पुरस्कार पूर्व प्रधानमन्त्री चन्दले पाउने

२०७७ जेठ २४, ०७:१६ खबर संवाददाता

धनगढी : नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरीले एक लाख एक हजार एक सय ११ को ‘मनिराज वाङ्मय पुरस्कार २०७६’ पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई प्रदान गर्ने निर्णय गरेको छ।  प्रतिष्ठानको धनगढीमा बसेकोे बैठकले पूर्व प्रधानमन्त्री चन्दलाई पुरस्कार दिने निर्णय गरेको महासचिव डा.टीएन जोशीले जानकारी दिए। 

धनगढीका वरिष्ठ साहित्यकार मनिराज जोशीको नामबाट जोशीका छोरा÷बुहारी गोविन्दराज जोशी र तारा जोशीले दश लाखको अक्षयकोष स्थापना गरेका थिए। प्रत्येक वर्ष उक्त कोषको रकमबाट राष्ट्रियस्तरका एक जनालाई पुरस्कार प्रदान गरिँदै आएको छ। यसअघि राष्ट्रकवि माधवप्रसाद घिमिरे र साहित्यकार दधिराज सुबेदीले सो पुरस्कार प्राप्त गरेका थिए। 

प्रतिष्ठानको आजको बैठकबाट अन्य १० हजार पुरस्कार राशीका ‘खप्तड स्वामी सच्चिदान्न पुरस्कार २०७५’ देवघाट चितवनका ज्ञानानन्द सरस्वतीलाई प्रदान गरिने निर्णय भएको छ। 

‘गोदावरी प्रतिभा पुरस्कार २०७५’ झापाका दिपकप्रकाश बास्कोटालाई, ‘आचार्य देवराज शास्त्री पुरस्कार २०७५’ काठमाडौका भरतराज पौडेललाई, ‘जयराज पन्त लोकसाहित्य पुरस्कार २०७५’ बझाङका लक्ष्मीकान्त जोशीलाई, ‘नृपबहादुर स्वाँर साहित्य पुरस्कार २०७५’ कञ्चनपरकी नारा जोशीलाई, ‘आचार्य देवराज शास्त्री साहित्य पुरस्कार २०७६’ प्राध्यापक डा.रामचन्द्र भट्टलाई र ‘खडकबहादुर सिंह प्रतिभा पुरस्कार २०७५’ युवा साहित्यकार लक्की चौधरीलाई प्रदान गर्ने निर्णयसमेत गरेको महासचिव जोशीले जानकारी दिए।

प्रतिभा छनौट समितिको सिफारिसको आधारमा निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष पदमराज जोशी प्रभातले जानकारी दिए। पुरस्कार लकडान खुलेपछि मात्र वितरण गरिने छ।  

कमेन्ट लोड गर्नुस