सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्वारेन्टिनमा तनाव हुन नदिन कैलालीको गौरीगंगामा मनोपरामर्श

२०७७ जेठ २४, ०६:४९ रासस

कैलाली : कैलालीको गौरीगङ्गा नगरपालिका–९ ले क्वारेन्टिनमा रहेकालाई मानसिक तनाव हुन नदिन मनोपरामर्श दिन शुरुआत गरेको छ। 

क्वारेन्टिनमा रहँदा मनमा विभिन्न कुरा खेलिरहँदा मानसिकरूपमा तनाव पैदा हुनसक्ने  र यसले दीर्घकालीनरूपमा समेत असर पुर्‍याउने अवस्थालाई ध्यान दिँदै  मनोपरामर्शको शुरुआत गरिएको वडाध्यक्ष अध्यक्ष हरिप्रसाद तिवारीले जानकारी दिए। 

“हामीले वडामा रहेका तीनवटै क्वारेन्टिनमा परामर्श दिन शुरु गरेका छौँ, “यसले गर्दा क्वारेन्टिनमा बस्नुभएकाहरुमा थोरै भए पनि ऊर्जा थपिएको छ”, उनले भने।  स्थानीय युवाहरू क्वारेन्टिन व्यवस्थापनदेखि जोखिम हुन नदिन वडासँगै हातेमाले गरेर गाउँगाउँमा चेतना फैलाउनसमेत लागिरहेको उनले बताए। “क्वारेन्टिनस्थलमा बसिरहँदा आफूलाई कोरोना नै भएको छ”, “लकडाउनका कारण रोजगारी गुमाएर बसिरहेको हुनाले परिवारमा आर्थिक बोझ आउँछ, लगायतका कुरा सोचेर तनाव लिएर बसेकालाई आत्मबल बढाउन मद्दत पु¥याउने हेतुले परामर्श दिइएको हो”,  मनोविर्मशकर्ता सीता भण्डारी भने। 

उनले तनाव व्यवस्थापन गर्न सामाजिक सञ्जालमा आएका अपूर्ण र अविश्वसनीय समाचारहरू हेर्न र सुन्न बन्द गर्न,  शारीरिक व्यायाम तथा ध्यान गर्न, स्वस्थ र सन्तुलित भोजन गर्न, धुमपान र मद्यपानबाट टाढै रहन, पर्याप्त मात्रामा सुत्ने, आफूलाई मनपर्ने र ऊर्जाशील क्रियाकलापमा समयको सदुपयोग गर्न साथीभाइ तथा आफ्नो नजिकको मान्छेहरूको निरन्तर सम्पर्कमा बस्न आग्रह समेत गरे। 

गौरीगङ्गा नगरपालिकाका प्रमुख भीम देउवाले नगरपालिकाका हरेक क्वारेन्टिनमा मनोपरामर्श सञ्चालन गरिने जानकारी दिए। उनले सङ्कटको घडीमा एकले अर्कालाई मद्दत गर्न आग्रह समेत गरेका छन्।  

कमेन्ट लोड गर्नुस