कैलालीमा थप ४ जनामा कोरोना पुष्टि, सुदूरपश्चिममा संक्रमितको सङख्या १०९ पुग्यो
धनगढी : कैलालीमा आज थप चार जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप चार जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
यसअघि आजै १३ जनामा कोरोना पुष्टि भएकोमा आज साँझ थप चार जनामा कोरोना पुष्टि भएको उनले बताए।
नयाँ संक्रमित चारै जना कैलालीको गौरगिंगा नगरपालिकाका छन्। नगरपालिकाका १६, १८, २७ र ३० बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। यसअघि आज नै बझाङका ६, कैलाली र काठमाडौँका दुई/दुई, अछाम, कञ्चनपुर, डडेल्धुराका एक/एक जनामा कोरोना पुष्टि भएको थियो।
योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या एक सय ९ पुगेको छ। सुदूरपश्चिमका एक सय ९ जना संक्रमित मध्ये एक सय ५ जना प्रदेशभित्रै रहेका छन् भने दुई जना संक्रमितको मृत्यु भईसकेको छ।
एक जना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भईरहेको छ। संक्रमित मध्ये १८ जना प्रदेशभित्रका विभिन्न अस्पतालबाट डिस्चार्ज भईसकेका छन्।
सबैभन्दा बढि कैलालीका ४६ जना, अछामका १५, कञ्चनपुरमा १३, डोटीका १०, डडेल्धुरा र बझाङमा ७/७, बैतडीमा ६, बाजुराका तीन र दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको छ।
अहिलेसम्म धनगढीको प्रयोगशालाबाट ९२, सुर्खेतको प्रयोगशालाबाट १२, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ जनामा कोरोना पुष्टि भएको छ।