सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कोरोना संक्रमित र अन्य ४६ जनालाई एउटै धारा, एउटै शौचालय

२०७७ जेठ २४, ०९:११ खबर संवाददाता

धनगढी : धनगढीका दुई कोरोना सक्रमितलाई क्वारेन्टिनमै राखिएपछि जोखिम बढेको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर १४ का २२ बर्षीय युवती र २६ बर्षीय युवकलाई पञ्चोदय माविको क्वारेन्टिनमा राखिएपछि जोखिम बढेको हो।

वडा नम्वर १४ का वडा अध्यक्ष रामबजारी चौधरीले संक्रमितलाई आइसोलेसनको व्यवस्था नहुँदा जोखिम बढेको गुनासो गरे। ‘पञ्चोदयको क्वारेन्टिनमा दुई जना संक्रमितसंगै अन्य ४६ जनालाई पनि राखिएको छ,’ वडा अध्यक्ष चौधरीले भने, ‘दुई जना संक्रमितले प्रयोग गर्ने शौचालय र धारा अन्य ४६ जनाले पनि प्रयोग गर्नुपरेको छ। यस्ले ४६ जनामा समेत त्रास फैलिएको छ।’ 

’एउटै शौचालयमा सबै जानुपर्छ। केरोना पुष्टि भएपछि अन्यले जान दिईरहेका छैनन्,’ कोरोना संक्रमित २६ बर्षीय युवकले दिनेश खवरलाई भने, ’संक्रमितलाई राख्ने ठाउँ त आइसोलेसन हो भन्थे तर हामीलाई क्वारेन्टिनमै किन राखियो थाहा छैन्।’

स्वास्थ्य मन्त्रालयले नयाँ निर्देशिका पारित गरेपछि सेती प्रादेशिक अस्पतालले दुवै जना संक्रमितमा लक्षण नदेखिएको भन्दै फिर्ता पठाएको थियो। फिर्ता पठाइएका संक्रमितलाई अव्यवस्थीत क्वारेन्टिनमा राखिदा संक्रमण फैलिने खतरा बढेको छ।

कोभिड–१९ सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको संघीय, प्रदेस तथा स्थानीय मापदण्ड २०७६ बमोजिम घना बस्तीबाट टाढा, सय भन्दा बढीलाई राख्न सक्ने क्षमता भएको, सञ्चार, स्वास्थ्य पानी बिजुलीको पूर्ण व्यवस्था भएको र प्रति व्यक्ति ७५ वर्ग फिटको स्थान वा न्यूनतम दूरी साढे तीन फिट हुनुपर्ने, नियमित सरसफाइ हुनुपर्ने लगायतको व्यवस्था छ। तर धनगढीका क्वारेन्टिन भने सो अनुसार व्यवस्थापन गरिएको छैन्। 
 

कमेन्ट लोड गर्नुस