छोरी, श्रीमान र श्रीमतीसंगै छन् धनगढीका दुई संक्रमित, १३ घण्टासम्म अस्पताल ल्याइएन
धनगढी : धनगढी उप–महानगरपालिका वडा नम्वर १४ का दुई जना कोरोना संक्रमितलाई क्वारेन्टिनमै छोडिएको छ। २२ बर्षीय युवती र २६ बर्षीय युवकलाई कोरोना पुष्टि भएको १३ घण्टा पुगेपनि उनीहरुलाई क्वारेन्टिबाट छुट्टै नराखिएको हो।
दुबै संक्रमित १४ दिनअघि भारतको दिल्लीबाट एउटै गाडीमा आएका थिए भने धनगढी उप–महानगरपालिका फुलवारीको पञ्चोदय माविको क्वारेन्टिमान समेत परिवारसहित एउटै कोठामा बसेका थिए।
संक्रमित महिलाका श्रीमान र छोरा तथा संक्रमित पुरुषकी श्रीमती र २७ दिने छोरी एउटै कोठामा बस्दै आएका थिए। संक्रमित महिलाका तीन बर्षीय छोरालाई घर पठाईएको छ भने अहिले कोरोना पुष्टि भएको १३ घण्टा पुगेपनि संक्रमित महिलाका श्रीमान, संक्रमित पुरुषकी श्रीमती र २७ दिनकी छोरी एउटै कोठामा बसिरहेका छन्।
संक्रमित पुरुषले दिनेश खवरसंग कुराकानी गर्दै भने, ‘कोरोना पुष्टि भएको १३ घण्टा पुगिसकेको छ। अहिले पनि हामीलाई परिवारका सदस्यसंगै राखिएको छ। अस्पताल लगिएको छैन्। यसरी परिवारका सदस्यलाई पनि जोखिम बढेको छ।’ उनले संक्रमण पुष्टि भएपछि अस्पताल लैजान आग्रह गरे पनि वेवास्ता गरिएको बताए।
यता धनगढी उप–महानगरपालिका वडा नम्वर १४ का वडा अध्यक्ष रामबजारी चौधरीले संक्रमित दुवै जना परिवारका सदस्यसंगै रहेको स्वीकार गर्दै अस्पताल लैजान एम्बुलेन्स नआएको बताए।
‘बिहिवार साँझ नै एम्बुलेन्स पठाउने भनिएको थियो,’ अध्यक्ष चौधरीले भने, ‘शुक्रवार विहान ७ बजेसम्म पनि एम्बुलेन्स आएको छैन्। विद्यालय भरिभराउ भईसकेकोले फरक–फरक कोठामा पनि राख्न सकिएको छैन्।’